काठमाडौं– भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बुधबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।
बुधबार संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न समय दिएको थियो ।
सांसद ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरुले ९५ दिनदेखि आवाज उठाउदा पनि सदनले नसुनेको र उल्टै आफुहरुमाथि झुटा आरोप लगाउने गरेको बताए । उनले अहिले अख्तियारलाई समेत दलीयकरण गरेको भन्दै ८४ पछि यस्तो अवस्था नरहने जिकिर गरे ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई समय दिए । सांसद शाहीले भिजिट भिसा प्रकरणका आफुहरुले निरन्तर आवाज उठाउदा पनि कुनै सुनुवाई नभएको भन्दै आपत्ति जनाए । उनले जुम्लाको स्याउलाई सहज रुपमा बजारीकरणको व्यवस्था गर्न माग गरे ।
सांसद शाहीले धारणा राखेपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।



























































