झापा(रासस)–पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।


ADVERTISEMENT


ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनुकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा परेकी थिइन् । त्यो बेला लागेको गोलीको छर्रा बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले निकाल्दै निःशुल्क उपचार शुरु गरेपछि १५ वर्षपछि उनको खुशी फर्किएको हो ।


ADVERTISEMENT

# # #


दश वर्ष लामो गृहयुद्धपछि शान्ति सम्झौता भएको ११ वर्ष बितिसक्दा समेत उपचारमा कसैले चासो नदिँदा अनुपा विगत १५ वर्षदेखि शरीरभरि गोलीको छर्रा लिएर कष्टपूर्ण जीवन बिताइरहेकी थिइन् ।

२०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो ।

युद्धविराम पछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक सरकारमा पुगे पनि जनयुद्धकी घाइते अनुपाको उपचारका लागि न त पार्टीले सहयोग ग¥यो न त सरकारले नै । आर्थिक अभावका कारण शरीरभरि गोलीका छर्रा लिएर कष्टपूर्ण जीवन बिताइ रहेकी अनुपाको बिएण्डसी अस्पतालले निःशुल्क उपचार शुरु गरेसँगै उनमा गुमेको खुशी पुनः फर्किएको हो ।

आफैँलाई पढाउने शिक्षकसहित १५ जना साथी एकैपटक माओवादीमा प्रवेश गर्दै युद्धमा होमिएकी अनुपालाई चैनपुर आक्रमणमै शहीद घोषणा गरिएको थियो । सोमबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनुपाले भनिन् – मलाई चैनपुर आक्रमण मै मृत्यु घोषणा गर्दै शहीद घोषणा गरियो । तर, दुई दिनपछि मेरो होस आएर स्थानीयवासीको सहयोगमा म २१ दिनपछि पार्टीको सम्पर्कमा पुगेँ । तर, शरीरमा लागेका गोलीका छर्रा निकाल्न नसक्दा आज पनि घाइते अवस्थामा दुःखले जीवन बिताइरहेकी छु ।

अस्पतालका न्यूरो सर्जन डा पंकज नेपालले आज (मंगलबार) अनुपाको शल्यक्रिया गर्ने बताए । “उहाँको एउटा छर्रा जटिल ठाउँमा छ, त्यो छर्राले दिमागलाई छोएको छ,” डा पंकजले भने “मान्छेको दाहिने दिमागले देब्रेलाई कन्ट्रोल गर्छ, देब्रेले दाहिनेलाई । उनको दाहिने दिमागमा छर्रा छ, त्यसैले देब्रे दिमाग लाटो भएर बसेको छ ।”

दिमागभित्रको छर्रा गर्मीमा तातेपछि अनुपालाई असर गरिरहेको डाक्टर पंकजले बताए । “यो छर्रा निकाल्न सम्भव छ, हामीले पहिले पनि यस्तै ठाउँमा भएको छर्रा निकालेका छौँ,” उनले भने – “यो एकदमै जटिल शल्यक्रिया हो, म चारजनाको टिम लिएर जान्छु, झण्डै १० घण्टा समय लगाएर अनुपाको सफल शल्यक्रिया गर्छु ।”