काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा टिम चौराहा धनगढीले लगातार दोस्रो जित हात पारेको छ। धनगढीले मंगलबार भएको आफ्नो तेस्रो खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो।


ADVERTISEMENT


सोमबार सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको धनगढी पहिलो खेलमा काठमाडौंसँग पराजित भएको थियो।


ADVERTISEMENT

# # #


महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य धनगढीले १८ ओभरमा २ विकेटको नोक्सानीमा पार गर्‍यो। धनगढीका लागि सुनील धमलाले नटआउट ४६ रन जोडे। उनले ४७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सोनु तामाङ पनि १५ रनमा नटआउट रहे। उनले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे। त्यसअघि युएईका खेलाडीद्वय अस्फाक अहमेदले ३० रन र रोहान मुस्ताफाले ३९ रन बटुले। अस्फाकले २४ बलमा ६ चौका र मुस्ताफाले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे। बलिङतर्फ महेन्द्रनगरका अभिनास कर्ण र पुनित मेहराले १–१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन जोड्यो। खराब सुरुवात गरेको महेन्द्रनगरका कप्तान तथा ओपनर विनोद भन्डारी ११ र आसिफ शेख ८ रनमा आउट भए। लगत्तै हरिशंकर साह र आरिफ शेख खाता नै खोल्न नपाइ पेभिलियन फर्के। रोहितकुमार पौडेल पनि ३ रनमा रनआटउको सिकार बन्दा महेन्द्रनगरले ८ ओभरमा ४७ रन जोड्दा ५ विकेट गुमायो।

पुनित मेहरा र भुवन कार्कीले अर्धशतकीय साझेदारी गर्दै महेन्द्रनगरको रनस्कोर उकासे। कार्कीले ४० बलमा ३२ रन जोडे भने मेहराले २२ बलमा ४४ रनको योगदान दिए। मेहराले ४ चौका र २ छक्का प्रहार गरे। पुनित विष्टको २४ रन पनि महेन्द्रनगरका लागि महत्वपूर्ण सावित बन्यो। बलिङतर्फ धनगढीका ललित भण्डारीले ४ विकेट लिए । सोमपाल कामी र सांसद शेखले १–१ विकेट लिन सफल भए।