काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि हुन लागेको आफ्नो भारत भ्रमणमा देशको शिर निहुराउने कुनै काम नहुने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बैठकमा भ्रमणका बारेमा संसद्लाई जानकारी गराउँदै ओलीले देशलाई बेफाइदा हुने, देशको शिर निहुरिने कुनै पनि काम नहुने उल्लेख गरेका हुन् । “देशलाई अप्ठ्यारो पर्ने, देशको शिर निहुरिने, देशले लज्जाबोध गर्नुपर्ने, देशलाई नोक्सान पर्ने कुनै काम यो भ्रमणमा हुँदैन र गरिँदैन” प्रधानमन्त्री ओलीले भने ।


ADVERTISEMENT

# # #


“राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्रीले निमन्त्रणा पठाउनुभएको छ । त्यसलाई मैले स्वीकार गरेको छु । चैतको २३ देखि २५ सम्म भारतको राजकीय भ्रमणमा जाँदैछु । भारतसँग हामी शंकारहित, अविश्वासरहित र भरपर्दो मित्रताको सम्बन्ध बनाउन चाहन्छौं । यस्तो सम्बन्धलाई बढाउँदै लैजाने नीति सरकारको रहेको संसद्समक्ष जानकारी गराउन चाहन्छु,” आफ्नो भ्रमणको उद्देश्यका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने ।

उनले नेपाल र भारतका बीचमा भएको मैत्रीपूर्ण सम्बन्धलाई अझ बढी सदृढ बनाउँदै लैजाने बताए ।

“हाम्रो सम्बन्ध कसैले बिगार्न खोज्यो भने पनि सप्रिने ठाउँमा आइपुग्छ,” प्रधानमन्त्री ओलीले भने,“हामीले हाम्रा भावना र समस्या स्पष्ट र मैत्रीपूर्ण ढंगले विश्वासका साथ राख्यौं भने वा कसैप्रति अर्घेल्याईँ नगरी राखेमा सुन्न पनि तयार हुनुपर्छ ।”

उनले यसपटक आफूले विगतको भ्रमणमा जस्तै कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

“यसपल्ट पनि म नयाँ सम्झौताको चाङ लगाउने पक्षमा छैन । पूराना सम्झौता कसरी कार्यान्वयन गर्ने भन्नेमा ध्यान केन्द्रित हुनेछ,” प्रधानमन्त्री ओलीले भने, “नेपालको जलमार्ग, रेलमार्ग यस्ता कुराहरुमा हाम्रो प्राथमिकता छ । यतातिर नै हाम्रो ध्यान बढी छ । ऊर्जाको क्षेत्रमा थुप्रै सम्भावना छन् । यी विषयमा पनि छलफल हुनेछ ।”

उनले नेपालका ग्यास बुलेट बेला बेलामा रोकिने, नोटबन्दीपछि नेपालीलाई भएको सटही असुविधा लगायतका विषयमा पनि कुरा उठाउने उनले बताए ।

“केही समयभित्रै बिमस्टेकको शिखर सम्मेलन नेपालमा आयोजना गर्दैछौं । सार्क शिखर सम्मेलन गर्ने अवस्थामा पुगेर रोकिएको छ । हामी यस्ता क्षत्रीय संगठनहरुको अर्थ र यसको महत्वका बारेमा पनि कुरा गर्छौं,” प्रधानमन्त्री ओलीले भने, “भारतका पनि जायज चासोमा हामीले ध्यान दिन्छौं । आतंकवाद, अपराध, तस्करीका समस्या रहेछन् भने हामीले सुन्छौं । जायज चासोपट्टी पनि हामीले ध्यान दिन्छौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत र सामूहिक वार्ता हुनेछन् । राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री लगायतसँग पनि भेटवार्ता हुनेछ ।”