एजेन्सी – २० वर्ष पुरानो कालो हरिण शिकारको मुद्दामा भारतको जोधपुरको चीफ ज्युडिसियल मजिस्ट्रेटको अदालतले सलमान खानलाई दोषि ठहर गरेको छ । न्यायाधिसले सलमानलाई ५ वर्षको जेल सजाय र १० हजार जरिवानाको सजाय सुनाएका छन् ।


ADVERTISEMENT


यो मुद्दामा सह–आरोपीहरु सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई शंकाको सुविधाका आधारमा सफाई पाएका थिए । पेशीका लागि सलमानसँगै उनीहरु सबै बुधबार त्यहाँ पुगेका थिए ।


ADVERTISEMENT

# # #


बहिनीहरुको रुवावासी

अदालतमा लन्चका क्रममा सलमानका दुई बहिनीहरु अर्पिता र अलविरा बाहिर ग्यालरीमा फोनमा कुरा गरिरहेका थिए । सलमान भने कोर्टरुम भित्र कुर्सीमा एक्लै बसेका थिए ।

लन्चपछि न्यायधिस ड्यासमा आए । उनी आएपछि सलमान पर्खालमा अढेस लागेर उभिए । बहिनीहरु पनि आएर उनीसँगै बसे ।
न्यायधिसले सलमानलाई ५ वर्षको कैद सजाय सुनाए लगत्तै बहिनीहरु रुन थाले । त्यहीँ रहेका सलमानका बडिगार्ड शेरा पनि भावुक बने ।

के हो कालो हरिण प्रकरण ?

यो घटना सन् १९९८ को सेप्टेम्बर–अक्टोबरको हो । त्यतिबेला यी सबै कलाकारहरु फिल्म ‘हम साथ साथ है’ को सुटिङका सिलसिलामा जोधपुरमा थिए ।

सलमानमाथि जोधपुरको घोडा फार्म हाउस र भवाद गाउँमा २७ र २८ सेप्टेम्बर १९९८ को रातमा हरिणको शिकार गरेको आरोप लाग्यो । यसैगरी कांकाणी गाउँमा १ अक्टोबरमा २ काला हरिणको शिकार गरेको आरोप लाग्यो ।

कांकाणी गाउँको शिकार मामलामा प्रत्यक्षदर्शीले अदालतमा बताएका थिए कि गोलीको आवाज सुनेर उनी त्यहाँ पुगेका थिए । शिकार सलमानले गरेका थिए । जीपमा उनीसँग सैफ अली खान, नीलम, सोनाली बेन्द्रे र तब्बु पनि थिए । उनीहरु सबै मिलेर सलमानलाई शिकारका लागि उक्साएको आरोप छ । तर, प्रत्यक्षदर्शीले उनीहरुलाई पहिचान गर्न नमानेपछि उनीहरुले उन्मुक्ति पाएका छन् ।

सलमानविरुद्ध कालो हरिण शिकारको मामलामा तीनवटा र हातहतियार ऐनमा एउटा मुद्दा थियो । त्यतिबेला सलमानको कोठाबाट उनको निजी पेस्तोल र राइफल बरामद गरिएको थियो, जसको लाइसेन्सको म्याद गुज्रिसकेको थियो ।

हरिण शिकारका ३ मामलामा सलमान प्रहरी र न्यायिक हिरासतमा पहिले पनि १८ दिन जेल बसिसकेका छन् ।