काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT

# # #


भारत भ्रमणको पहिलो दिन शुक्रबार ओली केही साना कार्यक्रमहरुमा सहभागी हुनेछन् । दिल्ली पुगेलगत्तै उनी ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साँझ साढे सात बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

शनिबार भ्रमणको महत्वपूर्ण दिन
प्रधानमन्त्री ओलीको भारत भ्रमणको दोस्रो दिन शनिबार भने महत्वपूर्ण छ । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग विहान ९ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ गार्ड अफ अनर ग्रहण गरेपछि १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

त्यसैदिन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावाद हाउसमा भेटघाट हुनेछ । भेटघाटको क्रममा दुई पक्षबीच भएको सहमतिमा हस्ताक्षर गरी संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम छ ।

ओली भारतका बिशिष्ट पाहुना र फरक परिस्थितिमा भ्रमण भैरहेकोले मोदीले महत्वपूर्ण सहयोग घोषणा गर्न सक्ने भाजपा उपाध्यक्ष तथा सांसद भगतसिंह कोशियारीले स्रोतलाई जानकारी दिएका छन् ।

शुक्रबार नै हैदरावाद हाउसबाट ओली र मोदीले संयुक्तरुपमा पञ्चेश्वर जलविद्युत आयोजनाको शिलान्यास तथा वीरगञ्जमा निर्मित एकीकृत जाँच चौकी (आईसीपी)को उदघाटन गर्ने कार्यक्रम छ ।

यस्तै शनिबार साँझ साढे पाँच बजे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउने र कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने छन् ।

दिल्ली बसाइँको क्रममा प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय जनता पार्टीका नेता, कांग्रेस आईका नेता, भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भारत भ्रमणको अन्तिम दिन आइतबार पन्तनगरस्थित कृषि विश्वविद्यालयको कार्यक्रममा ओली सहभागी हुनेछन् । त्यहाँ विश्वविद्यालयले ओलीलाई डक्टरेटको सम्मानार्थ उपाधीबाट बिभूषित गर्ने छ । प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।