काठमाडौं– काठमाडौं जिल्लाको नापी कार्यालय, कलंकी अन्तर्गत ३ नं. नापी टोली, पुरानो नैकापमा कार्यरत करार सेवा कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवर घुससहित पक्राउ परेका छन्।


ADVERTISEMENT


चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा रहेको एक जग्गाको हालसाविक प्रक्रिया गरी नयाँ जग्गाधनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले छानबिन थालेको थियो। अनुसन्धानका क्रममा आयोगको टोलीले एकेन्द्र बहादुर कुँवरलाई १३ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।


ADVERTISEMENT

# # #


कुँवरले भूमिसुधार तथा मालपोत कार्यालय, कलंकीमा दर्ता श्रेस्ता कायम रहेको चन्द्रागिरी नपा–१३ (साविक पुरानो नैकाप वडा नं. ८ख) स्थित जग्गाको हालसाविक गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने नाममा सेवाग्राहीसँग सो रकम माग गरेका थिए।

यस घटनासँग सम्बन्धित अनुसन्धानपछि कुँवरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम भ्रष्टाचार गरेको ठहर गरी बिगो १३ हजार रुपैयाँ कायम गर्दै कैद र सो बराबर जरिवाना हुने मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, भ्रष्टाचारजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन आयोग प्रतिबद्ध रहेको छ।