काठमाडौं–स्थानीय तहमा ३७ हजारभन्दा बढी कर्मचारी अभाव भइरहँदा विभिन्न स्थानीय तहमा कार्यरत केही कर्मचारी केन्द्रीय र प्रदेश सरकारका मन्त्रीको सोर्सफोर्स प्रयोग गर्दै मन्त्रीको सचिवालयमा आउने प्रयास गरिरहेका छन् ।


ADVERTISEMENT


स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेका उपसचिव, अधिकृत तथा सुब्बा र खरिदारसमेत स्थानीय तहबाट केन्द्रका विभिन्न मन्त्रालय तथा प्रदेशको मन्त्रालयमा आउन विभिन्न मन्त्रीको सोर्सफोर्स लगाउन थालेको पाइएको हो ।


ADVERTISEMENT

# # #


सरकारले देशभर सात सय ५३ वटा स्थानीय तह र ७७ वटा जिल्ला समन्वय समितिमा गरेर ५७ हजार तीन सय ५४ कर्मचारीसहितको नयाँ दरबन्दी संरचना स्वीकृत गरिसकेको छ ।

स्वीकृत दरबन्दीमध्ये हाल स्थानीय तहमा ३७ हजारभन्दा बढी पद रिक्त अवस्थामा छ । पछिल्लो समय पाँच महिनाअघि नै स्थानीय तहमा खटाइएका १५ सय कर्मचारीमध्ये हालसम्म पाँच सय कार्यथलोमा पुगेका छैनन् ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका निजी सचिव होम लुइँटेलले स्थानीय तहबाट अन्यत्र कर्मचारी सरुवा हुन खोज्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई कडा बनाउने बताए । ‘कसैको रुचिको आधारमा स्थानीय तहका कर्मचारीको सरुवा हुँदैन’, उनले भने, ‘मन्त्रीज्यूले त्यसमा कडाइ गर्न निर्देशन दिनुभएको छ ।’ –आजको अन्नपूर्ण पोष्टबाट