काठमाडौं–स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले अपराजित यात्रालाई कायम राखेको छ । शनिबार राति भएको खेलमा लेगानेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले अपराजित यात्रा कायम राखेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले ह्याट्रिक गोल गरे । मेस्सीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । लेगानेसका नविल एल जहरले एक गोल फर्काए ।


ADVERTISEMENT

# # #


नाउ क्याम्पमा खेलको २७ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । यो फ्रिकिक गोलसँगै मेस्सी सन् २००६ को सिजनपछि ला लिगामा एकै सिजन फ्रिकिकमा ६ गोल गर्ने पहिलो खेलाडी बने । सन् २००६ को सिजन रोनाल्डिन्होले फ्रिकिकबाट ६ गोल गर्दै किर्तिमान बनाएका थिए । त्यसपछि खेलको ३२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

पहिलो हाफमा २–० ले पछि परेको लेगानेसले दोस्रो हाफमा एक गोल फर्कायो । खेलको ६८ औं मिनेटमा लेगानेसका जहरले गोल गर्दै खेल २–१ मा ल्याए । तर, खेलको ८७ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए । योसँगै मेस्सीले आफ्नो करियरको ४५ औं ह्याट्रिक पुरा गरेका छन् ।

यो जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । जितपछि बार्सिलोनाले ३१ खेलबाट ७९ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १२ अंकले अघि रहेको छ । एथ्लेटिकोको ६७ अंक रहेको छ । पराजित लेगानेस ३६ अंक जोडेर लिगको चौथो स्थानमा छ ।