काठमाडौं–सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ । न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला र उच्च अदालत पाटनको निर्णय–कैफियत मगाउन आइतबार आदेश दिएको हो ।


ADVERTISEMENT


सुन तस्करीका मुख्य अभियुक्तलाई छाड्ने जिल्ला अदालत र उच्च अदालतविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा पुगेको थियो । जिल्ला अदालत र उच्च अदालतले गत वर्ष साढे ३३ किलो सुन तस्करी काण्डका मुख्य अभियुक्त रोशन भनिने गुप्तलाल भुसाललाई धरौटीमा रिहा गर्ने निर्णय गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रहरीले सुन तस्करीका मुख्य अभियुक्त मानेका भुसाललाई जिल्ला अदालत काठमाडौंले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि महान्यायाधिवक्ताको कार्यालय अन्तरकालीन आदेशविरुद्धको निवेदनसहित सर्वोच्च पुगेको हो ।

सुन तस्करी र संगठित अपराध संलग्न व्यक्तिलाई जिल्ला अदालतले थुनछेक बहसमै धरौटीमा रिहा गर्नु गलत निर्णय भएको भन्दै गत बिहिबार सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो ।

२०७३ साल पुस २१ गते गैरकानुनी बाटोबाट नेपाल भित्रिँदै गरेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो ।

त्यसपछि ब्युरोले १७ करोड बढी रुपैयाँ बिगो दाबी गर्दै ३३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । भुसाल जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए । केही समयपछि उनी आफैं अदालतमा उपस्थित भएका थिए । त्यसपछि भएको थुनछेक बहसमा जिल्ला अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

मुद्दाका आरोपितमध्ये सुन ल्याउन सघाउने पाँचजना जेलमा छन् । सुन तस्करीका मुख्य नाइके भनिएका भुसाल धरौटीमा छुटेका थिए । – आजको नागरिक दैनिकबाट