काठमाडौं–भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा मंगलबारबाट सुरु हुँदैछ । गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार मंगलबार दिउँसो एक बजेबाट जात्रा सुरु हुनेछ ।


ADVERTISEMENT


तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा शुरु हुन्छ । यो जात्रा आगामी बैशाख ५ गते गहिटी पुर्‍याएर सम्पन्न हुन्छ ।


ADVERTISEMENT

# # #


जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार जात्रा हुने ३४ स्थानमा सिसी टिभी क्यामरा जडान गरेर निगरानीको व्यवस्था मिलाइएको छ । यसबाहेक जात्राको सुरक्षाका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जात्रा अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरणमा रोकसमेत लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले झगडा गर्ने एवं ढुंगा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गर्ने बताए ।

बिस्केट जात्राको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच हरेक वर्ष ढुंगा हानाहान हुने र झडप हुने गर्दछ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आग्रहसहित सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सदभाव र्‍याली निकालिएको थियो ।