बाजुरा– स्वास्थ्य बीमा दर्ता कार्यक्रम बाजुरामा शुभारम्भ भएको छ । देशकै ३२ औँ जिल्लाका रुपमा बाजुरामा स्वास्थ्य बीमा सदस्य दर्ता शुभारम्भ भएको हो । दर्ता कार्यक्रमको प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले औपचारिक शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT


प्रतिनिधि सभा सदस्य लालबहादुर थापा र जिल्ला स्वास्थ्य समन्वय समिति सल्लाहकार एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले नाम दर्ता गराएर जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


गरीब तथा विपन्न समुदायलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याई सामाजिक स्वास्थ्य बीमाको माध्यमबाट स्वास्थ्य सेवाको सुनिश्चित गर्न बीमा कार्यक्रम सञ्चालन गरिएको हो । सेवा जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालनमा आएको छ । सेवा जेठ १ गतेबाट सुरु गरिने भएपनि नाम दर्ता कार्यक्रम चैत्र २५ गतेबाट औपचारिक उद्घाटन गरिएको छ । जिल्लामा २०६८ सालको जनगणना अनुसार २०,९०८ वटा परिवार संख्या रहेको छ । ती सबै घरलाई स्वास्थ्य बीमामा आबद्ध गराउने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष भरत बोहराले बताएका छन् ।

पाँच जना संख्या रहेको प्रति परिवार २५ सय रुपैयाका दरले बीमा शुल्क लिईने छ । भने त्यस भन्दा माथि प्रति व्यक्ति ४२५ रुपैया थप गर्दै लगिने बताईएको छ । परिवारले २५ सय बीमा वापतको ५० हजार बराबरको स्वास्थ्य उपचार सेवा पाउने भएका छन् ।

सेवाका लागि जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरालाई सूचिकृत गरिएको छ । स्थानीयले तोकिएका दुईवटा स्वास्थ्य संस्थाबाट उपचार सेवा सम्भव नभए रिफर प्रमाणका आधारमा अछामको बयालगडा, डडेल्धुरा, सेती अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार सुविधा उपलब्ध हुने विमा कार्यक्रम प्रदेश संयोजक जनक साउदले बताएका छन् ।

बीमा दर्ताका लागि जिल्लाका नौ वटै स्थानीय तहमा रहेका ६९ वटा वडामा प्रतिनिधि छनोट गरिएको छ । बीमा संकलन वापतको कमिसन खानेगरी उनीहरुलाई तोकिएको जिल्ला अस्पतालले बताएको छ । अति विपन्न समुदायलाई स्वास्थ्यमा सहज पहुँच पुर्याएर गुणस्तरीय सेवा उपलब्ध गराउन बीमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक अनुज भट्चनले विश्वास व्यक्त गरे । अति गरिब परिवार जसले २५ सय रुपैँया समेत तिर्न नसक्ने अबस्थाको भए गरीब परिवारको प्रमाणपत्रको आधारमा नेपाल सरकारले निशुल्क बीमा गर्ने जिल्ला अस्पतालले बताएको छ । स्वास्थ्य उपचारका नाममा जिल्लाको स्रोत अन्यन्त्र जाने र महँगो मूल्य तिर्नुपर्ने समस्यामा बीमा कार्यक्रमले कमी ल्याउने अस्पताल विकास समिति अध्यक्ष भरत रोकायाले बताए ।

चिकित्सा सेवा जिल्लामै उपलब्ध गराउने गरी परिवारको एक जना सदस्यको नाममा कार्ड दिईने र सोही परिचय पत्रका आधारमा उपचार सुविधा उपलब्ध गराईने अशोक यादवले बताए । बीमा आफैमा राम्रो कार्यक्रम भएकोले बडिमालिका नगर क्षेत्रका सबै घरलाई समेट्न नगर प्रमुख पदम बडुवालले बचन दिए ।

सस्तो र सुलभ स्वास्थ्य सेवा र गुणस्तरीय उपचार जिल्लामै उपलब्ध हुने हुँदा त्यसको प्रभावकारी कार्यान्वनका लागि पूर्ण सहयोग गर्ने प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले बताएका छन् । स्वास्थ्य, शिक्षा मानव विकास सूचाङ्कका आधार भएकोले त्यसको सुधार गर्न आवश्यक रहेको भन्दै थापाले सबैले आफ्नो स्वास्थ्य बीमामा आवद्ध हुन अपिल गरेका छन् ।