नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी शेर्पासंग हिमालय पोष्टले वर्तमान खेलकुदका बारेमा गरेको कुराकानी  :


ADVERTISEMENT


अहिले केमा व्यस्त हुनुहुन्छ ?
हामी अहिले अगस्टमा हुन लागेको एसियन गेमको तयारीमा छौँ । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको हैसियतले म युद्धस्तरमा लागि रहेको छु ।


ADVERTISEMENT

# # #


तपाई नेपाल ओलम्पिक कमिटीको महासचिव पनि हुनुहुन्छ । ओलम्पिक कमिटीको पछिल्लो गतिविधि के छ ? बताइदिनुस् न ।

प्राय खेलका अन्तराष्ट्रिय महासंघको हेडक्वाटर स्वीजरल्याण्डमा छन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटीको हेडक्वाटर पनि स्वीजरल्याण्डको लुजानमा नै छ । अब दक्षिण एसियाको कुरा गर्ने हो भने यसको हेडक्वाटर नेपालमा बनाउने हाम्रो प्रस्तावलाई अन्य देशले पनि स्वीकार गरिरहेका छन् । हामीलाई अहिले चाहिएको भनेको सरकारको प्रतिवद्धता मात्रै हो । त्यो भयो भने दक्षिण एसियाको ओलम्पिक कमिटीको प्रधान कार्यालय नेपालमा हुन्छ । यस्तै बास्केट बल, ताइवान्दोको प्रधान कार्यालय पनि नेपालमा नै राख्ने कुरा अगाडी बढेको छ । यी कार्यालय हामीले काठमाडौँमा राख्न सक्यौँ भने यो हाम्रो लागि गौरवको विषय पनि हुनेछ ।

अर्को भनेको आउन लागेको साउथ एसियन गेमको आयोजक हामी भएकाले त्यसको तयारी पनि गरिरहेका छौँ । जुन १८ वर्षपछि नेपालमा हुँदैछ । ओलम्पिकमा हामीले अहिलेसम्म गोल्ड मेडल प्राप्त गर्न सकेका छैनौँ । त्यस कारण टोक्योमा हुने ओलम्पिकको तयारी पनि हामी गरिरहेका छौँ ।

ओलम्पिकमा नेपालले सहभागितामै चित्त बुझाउनु परेको छ । अब हुने ओलम्पिकमा त्यो स्थितिको अन्त्य गर्नका लागि कस्तो तयारी गर्न आवश्यक छ ?

अब ओलम्पिकमा सहभागितामात्रै होइन मेडेल पनि जित्नुपर्छ भन्दै हामीले सबै वर्गलाई समेटेर एउटा संरचना बनाएका छौँ । त्यसले आफ्नो तयारी थालिसकेको छ ।  नेपालमा एउटा के छ भने कुनै एक खेलले सफलता हात पार्यो भने अन्य खेलहरु हराउने गर्छन् । एकातिर खेलाडीको सम्मान हुन्छ भने अर्कोतिर अन्य खेलका खेलाडीहरु गुमनाम हुने गर्छन् । जस्तो अहिले नेपालले क्रिकेटमा एक दिवशीय मान्यता पाएको छ । जताततै क्रिकेटको चर्चा छ । अब एक वर्ष क्रिकेटको मात्रै चर्चा हुन्छ । अन्य खेल अहिले सेलाएका छन् । यस्तो हुनुहुँदैन ।

आज बास्केट बलको कुरा गर्नुहुन्छ भने नेपाल दक्षिण एसियाको दोस्रो शक्ति केन्द्र भइसकेको छ । तर बिडम्बना नै भन्नुपर्छ अहिलेसम्म हाम्रो एउटै ट्रेनिङ सेन्टर छैन । बैकुण्ठ मानन्धरले लगातार तीन पटक साउथ एसियन गेममा गोल्ड मेडल जित्नुभयो । ३२ वर्ष अघि म्याराथुनमा बैकुण्ठ दाईकोको रेकर्ड अहिलेसम्म साउथ एसियामा तोड्न सकिएको छैन । तर आज म्याराथुन कुन अवस्थामा छ त्यो हामीलाई थाहा नै छ ।  क्रिकेटमात्र नभई फुटबल, बास्केट बल, कराँते वा अन्य जुनसुकै खेलमा जित्दा पनि नेपालकै शिर उचो हुने हो नि त । त्यसकारण खेलमा समानता हुनुपर्छ भन्ने हो । त्यो भएर खेलकुद नीतिमा सबै खेललाई समान नजरले हेरिनुपर्छ ।

त्यसका लागि त खेलकुद क्षेत्र विवादरहित हुन आवश्यक हुन्छ । तर पछिल्लो समय नेपाली खेलकुद निकाय विवादित बन्दै आएका छन् नि ? फेरि तपाई पनि त्यस निकायमा हुनुहुन्छ । विवाद अब कसरी सल्टाउने ?

यो त बनिबनाई विवाद हो । ओलम्पिक विवाद तपाईहरुले समयसमयमा सुन्नुहुन्छ होला । म स्वयम् ओलम्पिक कमिटीको महासचिव हूँ । हामीलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सम्बन्धन प्राप्त छ । तर अर्को पक्षले हामीपनि ओलम्पिक भनेका छन् । तर ती साथीहरुलाई म के भन्न चाहान्छु भन्दाखेरी अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सदस्य कुनैपनि राज्यको तर्फबाट एउटा समूहमात्र हुन्छ । त्यसकारण हामीलाई नै सम्बन्धन प्राप्त भएकाले हामी नै आधिकारिक हौँ । २०१९ को साउथ एसियन गेमको आयोजनाका लागि झण्डा त हामीले ल्याएको हो नि ? यदि उहाँहरुले आफूलाई वैधानिक मान्ने भए झण्डा ल्याउन सक्नुपथ्र्यो नि ? त्यस कारण अब सरकारी तर्फबाट पनि हस्तक्षेप गर्नुहुँदैन । अब खेलकुदले पनि स्थायित्व चाहेको छ । मलाई लाग्छ अरु क्षेत्रजस्तै खेलकुद क्षेत्रपनि एउटा निश्चित गतीमा अगाडी बढ्नेछ ।

त्यसको लागि के छ तयारी ?

प्रधानमन्त्री केपी ओली बहाल भएकै दिन उहाँले खेलकुद क्षेत्रको विवाद सल्टाएर उसको विकास गर्ने भन्नु भएको छ । एउटा प्रदेशमा एउटा कभर्ड हल बनाउने भन्ने कुरा स्वागत योग्य छ । तर एउटा बिडम्बनाको कुरा के हो भने १० वर्ष अघि सुरु भएको मुलपानी क्रिकेछ एकेडेमी अझसम्म सम्पन्न हुन सकेको छैन ।

त्यस कारण मेरो कुरा के हो भने मुलपानी एकेडेमी, नेपालको एकमात्र रंगशाला दशरथ रंगशाला, पोखराको रंगशाला लगायत निमार्णधिन अवस्थामा रहेका संरचनालाई हामीले फास्ट ट्रयाकमा सम्पन्न गर्नुपर्छ । यदि त्यो भयो भने आगामी वर्षमा मार्चमा हुने साउथ एसियन गेम हामी भव्यताका साथ सम्पन्न गर्नसक्छौँ । त्यही अनुसार हामी अगाडी बढेका छौँ र मलाई लाग्छ सरकारले यसमा सहयोग गर्नेछ ।