काठमाडौं– प्रमुख तीन विद्यार्थी संगठनले निजी विद्यालयले मनोमानी रुपमा चर्को शुल्क लिएको भन्दै अनुगमन गरी कारबाही गर्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


सोमबार नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनका प्रतिनिधिले मेयर शाक्यलाई भेटी निजी विद्यालयको अनुगमन गरी चर्को शुल्क लिनेलाई कारबाही गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


संविधानले आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिए पनि महानगरपालिकाले अनुगमन र नियमनके प्रक्रिया नै सुरु नगर्नु दुखद भन्दै विद्यार्थी संगठनहरुले सबै शिक्षण संस्थाको शुल्क निर्धारण गर्न पनि आग्रह गरेका छन् ।

‘नेपालको संविधान २०७२ ले प्रदान गरेको संवैधानिक व्यवस्था र दायित्व कार्यान्वयन गर्न यस महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयहरुको अनुगमन गरी जथाभावी शुल्क असुल गर्ने शिक्षण संस्थालाई कारबाही गर्न र सबै शिक्षण संस्थाहरुको शुल्क निर्धारण गर्नसमेत हामी जोडदान माग गर्दछौं’ तीन विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

शिक्षण संस्थाले मनोमानी शुल्क लिँदा महानगरपालिका चुप लाग्न नमिल्ने बताएका छन् । ‘संविधानले समेत स्पष्ट अधिकार र दायित्व प्रदान गर्दा पनि महानगरपालिकाले अहिलेसम्म शिक्षा क्षेत्रमा निजी शिक्षण संस्थाले गरेको मनोमानी र चर्को शुल्क असुल्ने जस्ता कार्यमा नियमन गर्ने कुनै पहल नगर्नुले महानगरपालिका शिक्षा क्षेत्रप्रति पुरै उदासिन रहेको ब्यहोरा स्पट भएको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा अनेरास्ववियूकी अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले हस्ताक्षर गरेका छन् ।

आफूहरुको मागलाई वेवास्ता गरेमा शिक्षामा भइरहेको निजीकरण र ब्यापारीकरणलाई समूल नष्ट गर्ने गरी आन्दोलन सुरु गर्ने पनि विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझेपछि मेयर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर खस्किएकाले निजी विद्यालयमा विद्यार्थी बढेको बताए । हिजोआज अभिभावकले आफ्ना छोराछोरीको पढाइका लागि जति रकम पनि खर्च गर्ने भन्दै मेयर शाक्यले सामुदायिक विद्यालयको स्तर वृद्धि गरेमा निजी विद्यालयको मनोमानी कम हुने दावी गरे ।