– कुमार दाहाल


ADVERTISEMENT


सन् १७७९ मा अमेरिकाको राष्ट्रपतिय शासन प्रणालीको संविधान बन्नुभन्दा झन्डै ५०० वर्ष अगाडि नै बेलायतमा संसदीय शासन प्रणालीको सुरुवात भइसकेको थियो। फ्रान्सका राजनीति दार्शनिक मन्टेसक्युको धारणा बेलायतमा शक्तिशाली संसदीय प्रणाली र अमेरिकामा आकर्षक राष्ट्रियपतीय प्रणाली आज पनि विश्वका अधिकांश देशमा अभिन्न राजनीति आदर्श मानिन्छन्।


ADVERTISEMENT

# # #


राजनीतिमा अकाट्य दर्शन र प्रणाली हुँदैन। त्यसैले जनमत लाई राजनीतिक दर्शन र प्रणालीको मुख्य आधार मान्छन् जे एस मिल । उनी स्वतन्त्रता र प्रजातन्त्रका प्रवर्धक हुन्। १८औँ शताब्दीपछिको औद्योगिक क्रान्तिले थप उत्साह दिएको बजारको स्वतन्त्रतालाई काल मार्क्सको द्वन्दात्मक भौतिकवादको सिद्धान्तले थुप्रै चुनौती दियो। यो चुनौतीलाई चाहे संसदीय शासन प्रणाली होस् या राष्ट्रपतीय शासन प्रणाली दुवैले बजारको स्वतन्त्रतालाई पूर्णरूपमा स्वीकार गरे। तर राजनीतिभित्रको स्वतन्त्रतामा राजनीति दल र सत्ताको मोह कति उत्कर्षसम्म पुग्यो भन्ने कुरा प्रथम, दोस्रो विश्वयुद्ध र १९७० पछि जन्मेको नयाँ विश्व व्यवस्था र अहिलेको पूर्वी र पश्चिमी प्रजातन्त्र बीचको फरकले संसारलाई द्वन्द्वमा मात्र फसाएन। यसले राजनीति र बजारको अवसरमा समेत ठूलो खाडल पैदा गर्यो।

प्रविधिमा एआइको प्रयोग र जीवन पद्धतिमै प्रविधिको स्वभावमा रमाउन पुगेको ९० दश क पछिको पुस्तालाई उन्नत मानिएका राजनीतिक प्रणालीले विश्वास गरेनन् र स्वीकार गर्न पनि सकेनन्। कर्मचारीतन्त्रीय पद सोपान र नियन्त्रण प्रणालीमा आधारित प्रचलित संसदीय र राष्ट्रपतिय शासन प्रणालीभित्र नयाँ सोच, स्वभाव, नतिजा र चुनौती लाई स्वीकार गर्न कतिपय देशका नेतृत्व तयार भएनन् र योग्य पनि देखिएनन्। यो राजनीतिक प्रणालीको जेनेरेसन ग्याप हो । तर, यो स्वीकार गर्न पुरानो पुस्ता तयार छैन।

फिलिपिन्स ,श्रीलङ्का, बङ्गलादेश हुँदै नेपाल प्रवेश गरेको र इन्डोनेसिया र फ्रान्समा देखिएको जेन–जी पुस्ताको आन्दोलनभित्र पूर्वी र पश्चिमा दुवै शक्तिशाली देशहरु आफ्नो पकडभित्रको राजनीति भनेर परिभाषित गर्दै होलान् ।

यो अलेक्जेन्डर र मुगलहरूको साम्राज्य विस्तारको नीतिभन्दा फरक छैन। ती साम्राज्यहरु पनि कालान्तरमा विलय भए । तर, परिवर्तन यद्यपि छँदैछ। अहिले देशभित्रको शासनमा खेल्नेहरुलाई के थाहा ! परिवर्तन उनीहरूको पोल्टाबाट बाहिर जाँदैछ। जेन–जीहरूको आकांक्षा र परिवर्तनको भुमरी क्रमशः प्रजातान्त्रिक आदर्श बोकेका भारत अमेरिका लगायतका देशहरूबाट नै बढी आकर्षित छन्। किनकि १९९० दशकपछिको पुस्ता नयाँपन चाहन्छ। स्वतन्त्रता चाहन्छ। त्यो स्वतन्त्रता राजनीतिभन्दा माथि हुनुपर्छ भन्ने उसलाई लाग्छ। र यसको जन्म तिनै देशहरूबाट भएको हो। अहिले विश्वका सबै देशहरूमा यो चेतना फैलिँदैछ।

अहिलेको नयाँ पुस्ता राष्ट्रपति र कुनै शासन प्रणाली भन्दा माथिको समानता चाहन्छ। यो समयको माग हो। पूँजीले प्रविधिलाई यति माथि उठायो कि अब ऊ देशगत असमानताभन्दा पनि वसुदैव कुटुम्बकममा विश्वास गर्न थालेको छ। यो १९९० को दशकपछिको विश्वव्यापीकरणको उच्चतम लाभ वा हानिको नतिजा हो। हामीले खोजेको पूँजीवादको उत्कर्ष यही हो र यसमा कुनै पनि राजनीतिकर्मी वा नेतृत्व पछुताउनुपर्ने वा डराउनुपर्ने जरुरी छैन। यो परिवर्तनले हामीले खोजेको राजनीति वाद वा दर्शनभन्दा फरक मानवता र विश्व भातृत्वतिर बढ्न संकेत गर्छ र यसले कुनै पनि समूह र स्वार्थको रक्षा गर्दैन।

अहिलेको विश्वमा देखिएको जेन–जीहरूको एउटै स्वर, एउटै भावना र एउटै दृष्टिकोणले विश्व अर्थ र राजनीति दोस्रो चरणमा प्रवेश गर्दैछ भन्ने कुराको संकेत मिलेको छ। र, यो क्रमशः हुने नै छ।

अर्थ राजनीतिको पहिलो चरण धर्म र समाजको कठोर नियम थियो। दोस्रो चरण पूँजी र व्यापारको कठोर र एकाधिकार प्रणाली थियो। र यसैको उत्कर्षमा जन्मेका राजनीति र अर्थशास्त्र भित्रका दर्शनले आजसम्म संसारका देशहरूमा शासन गरे । धरातल यही नै हो। अबका दशकमा प्रविधिले राजनीति र बजार दुवैलाई छुट्टै युगमा प्रवेश गराउँदैछ। जसको संकेत अहिले युवाहरुले दिन थालिसकेका छन्। र यसैलाई पुराना पुस्ताले विद्रोह ठान्छन्। जेन–जी आन्दोलन मान्छन् । तर यो समयले ल्याएको परिवर्तन हो। प्रत्येक परिवर्तनहरुलाई विश्व वातावरणले प्रभाव पारेको छ। यसैको प्रभाव नेपालमा परिसकेको छ। अब नेपाल नयाँ युगमा प्रवेश गर्दैछ।

नेपालमा राजनीति परिवर्तन नै भएन, मात्र राजनीति सहमति भयो। त्यसैले बेलाबेला जन्मेका आदर्श नेताहरू त्यही राजनीति प्रयोगमा विलीन भए । अहिलेको जेनजी पुस्ताले त्यही खोज्दैछ।

अचम्म लाग्छ जेन्जी पुस्ता संस्कृति इतिहास परम्परा र नेपाली आदर्श पुरुषको खोजी गर्दैछ। यो खोजी ७ सालदेखि ८२ सालसम्म कसैले गरेन। मात्र आफ्नो खोजी गर्यो। हामीले पनि विश्वले अपनाएका संसदीय शासन प्रणाली अपनायौं। यो संसदीय प्रणाली आफैमा नराम्रो थिएन। तर यसका दुर्गुणहरूलाई हामीले पन्छाएनौँ। र सधैंभरि बहुमत अल्पमतका आधारमा तेरो र मेरो गरेर शासन गर्यौं। संसदीय शासन प्रणालीको सबैभन्दा खराबी पक्षलाई अपनाइयो। यो खराबी पक्षले नै आज नयाँ पुस्ताहरूको हातमा शासन पुर्याएको छ।

जेस मिल जोनलकको आदर्श प्रजातन्त्र एक्काइसौँ शताब्दीमा देखिँदैछ। अहिले जेन–जीहरूले खोजेको स्वतन्त्रता उन्नत प्रजातन्त्रभन्दा कम देखिँदैन। यति हो यो प्रयोग धर्मी हुन सक्छ। किनकि जेन–जीहरूको सुरुवात नै प्रयोगबाट हुने गर्छ। र यसले नतिजा दिइसक्तासम्म आफू कति राष्ट्रवादी र कठोर हुन सकिन्छ भन्ने चुनौती सदैभरि रहिरहन्छ। र यो चुनौतीलाई अहिलेको विश्व राजनीति र बाडिएको प्रजातन्त्रको सीमा भित्र राखेर शासन गर्नु सानोतिनो चुनौती होइन ।

विश्वका ठूला विश्वविद्यालय र प्रविधिको युग बुझेको जेन्जी पुस्तालाई विश्व राजनीति पनि राम्ररी थाहा छ भन्ने हामी पछिल्ला पुस्ताहरुले विश्वास गरौं। त्यसैले परिवर्तनलाई सहजै स्वीकार गरेर उनीहरूलाई सहयोग गर्नु आजको चुनौती हो। यो राजनीतिभित्र रमाएका र शासन प्रणालीमा अनुहार उज्यालो पार्ने वर्गलाई अप्ठ्यारो पर्ला तर यो समयको माग हो। अबका दिनमा नेपालको भविष्य नदोहोरियोस्। जेन–जी युवा वर्गलाई शासनमा शुभकामना !

(लेखक नेपाल सरकारका सह–सचिव हुन् ।)