काठमाडौं–इटालियन क्लब एएस रोमाले बार्सिलोनाबिरुद्ध शानदार पुनरागमन गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ । दोस्रो लेगमा ३–० को जीत निकाल्दै अवे गोलको आधारमा रोमाले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सालाई स्तब्ध बनाएको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सा ४–१ गोलअन्तरले विजयी भएको थियो । रोमालाई एडिन जेकोले खेलको शुरुवातमा नै गोल गरेका थिए । त्यसपछि ड्यानियल डि रोस्सीले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै रोमालाई आशा दिलाए ।


ADVERTISEMENT

# # #


खेलको अन्त्यतिर डिफेन्डर कोस्टास मानोलासले गोल गर्दै रोमालाई जीत दिलाए ।

रोचक कुरा, डि रोस्सी र मानोलास दुवैले पहिलो लेगमा आत्मघाती गोल गरेका थिए । पहिलो लेगमा भिलेन बनेका उनीहरु दोस्रो लेगमा रोमाका लागि हिरो साबित भए । यो सँगै च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ३ गोल या सोभन्दा बढीले पछि परेको स्थिति उल्टाउने रोमा तेस्रो टोली बनेको छ । यसअघि डिर्पोटिभो ला कोरुनाले एसी मिलानविरुद्ध सन् २००४ मा र बार्सिलोनाले गत सिजन पेरिस सेन्ट जर्मेनविरुद्ध यो उपलब्धि हासिल गरेको थियो ।

पाँच पटकको विजेता बार्सिलोना ला लिगामा लगातार ३८ खेलमा अपराजित रहेको छ भने कोपा डेल रेको फाइनलमा पुगेको छ । तर, हारसँगै यो सिजन ट्रेबल जित्ने उसको सपना चकनाचुर बनेको छ ।
रोमालाई प्रतियोगिताको यो चरणसम्म पुग्न ३४ वर्ष लागेको छ ।

उता, मंगलबार नै भएको अन्य खेलमा म्यान्चेस्टर सिटीलाई दोस्रो लेगमा पनि २–१ गोल अन्तरले हराउँदै लिभरपुलले १० वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा ३–० ले पछि परेको सिटीका लागि ग्याब्रियल जिससले खेलको शुरुवातमा नै गोल फर्काएपनि दोस्रो हाफमा मोहमद शलाह र रोबर्टो फर्मिन्होले गोल गर्दै सिटीको सपना चकनाचुर बनाइदिए । यसअघि, लेरोय सानेको गोललाई अफसाइडभन्दै रद्द गरिएको थियो भने बर्नान्डो सिल्भाको प्रहार पोष्टमा लागेको थियो ।

सानेको गोल रद्द गरिँदा प्रतिबाद गरेको कारण सिटीका प्रशिक्षक ग्वार्डिओलाले स्ट्याण्डबाट बाँकी खेल हेर्न बाध्य भएका थिए । टेक्निकल एरियामा ग्वार्डिओलाको अनुपस्थित भएपटि सिटीको लय बिग्रिएको थियो । जसको फाइदा उठाउँदै लिभरपुलले गोल गर्न सफल भयो ।

यो सँगै लिभरपुल १० औँ पटक प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिभरपुलअघि मात्र म्यान्चेस्टर युनाइटेडले १२ पटक प्रतियोगिताको यो चरणमा प्रवेश गरेको छ ।