नवलपरासी(रासस)–पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताए । माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमूल संकलन तथा माछा मार्नका लागि सहज वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ ।


ADVERTISEMENT

# # #


गत फागुनमा दुई बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलनका क्रममा नवलपरासीमा रहेका सात मध्यवर्ती उपभोक्ता समिति र एक मध्यवर्तीबाट सञ्चालित सहकारीमा तालाबन्दीसमेत गरिदिएका छन् ।

निकुञ्जले अभियुक्त दुई जनालाई पाँच पाँच हजार धरौटीमा रिहा गरेको छ भने दुई दिनअघि माछा मार्दै गरेका बाबुछोरालाई नियन्त्रणमा लिएको छ । निकुञ्ज प्रशासनले उनीहरुले तियारी जाल प्रयोग गरेको र गस्तीमा रहेको सेनामाथि अपशब्द प्रयोग गरेका कारण नियन्त्रणमा लिएको जनाएको छ ।