काठमाडौँ – नेपाल टेलिकमले हिमाल पारीको जिल्ला मनाङका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको छ ।
विगत लामो समयदेखि गाउँपालिकाको वडा नं-१ पिसाङ, वडा नं-३ ङावल, वडा नं-८ टंकी मनाङ र वडा नं-९ खाङसारमा आश्विन ४ गतेदेखि कम्पनीले ४जी सेवा सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रमा यसअघि भी-स्याट प्रविधिबाट २जी सेवा सञ्चालन हुँदै आएको थियो ।
तर, पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको र पर्यटकका साथसाथै स्थानीय तथा व्यवसायीहरुको चाप हुने उक्त क्षेत्र भी-स्याट प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाई महसुस भएको थियो ।
भौगोलिक विकटताका कारणले रेडियो लिंकबाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीसहर–खाङसार एडीडीएस लिंक सञ्चालन भएपछि उक्त क्षेत्रमा ४जी मोबाइल सेवा सञ्चालन सम्भव भएको हो । यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा ४जी मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ ।
चामे गाउँपालिका-३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न नयाँ बीटीएस स्थापना गरी यही आश्विन १ गतेदेखि २जी र ४जी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।
यसैगरी कम्पनीले नासोङ गाउँपालिका वडा नं-१ तालगाउँमा २जी र ३जी सेवाप्रवाह हुँदै आएकोमा आश्विन ५ गतेदेखि ४जी सेवा थप गरी सञ्चालनमा ल्याएको छ । यस स्थानमा थप गरिएको ४जी सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्ने कम्पनीले जनाएको छ ।
मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको ४जी मोबाइल सेवा पुगेको छ । नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने भी-स्याट प्रणालीबाट सेवा सञ्चालन भैरहेको छ ।
नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ ।


























































