काठमाडौँ – नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञ र सरोकारवालाहरुको सुझाव अनुसार मन्त्रालयका काम कारवाही अघि बढाउने बताएका छन् । सोमबार मन्त्रीको शपथग्रहणपछि पत्रकारहरुसँग बोल्दै नवनियुक्त मन्त्री पुनले सुझाव अनुसार सकेसम्म छिटोछरितो कार्यसम्पादन गर्ने बताएका हुन् ।
साथै उनले अहिल्यै आफूले मन्त्रालयमा यस्ता यस्ता सुधार गर्छु भन्ने अवस्था नरहेको बताए । ‘अहिल्यै यो–यो गर्छु भन्ने अवस्था छैन । योजना बनाएर आएको भए त्यस्तो हुन्थ्यो, अपर्झट्ट मन्त्री भइएको छ ।’ उनले भने, ‘किताब बेच्दै गरेको मान्छेलाई ल्याएर मन्त्री बनाइदिएपछि अहिल्यै नै यो गर्छु भन्ने कुरा नसोध्नुस् ।’
उनले थपे, ‘सेवा सुविधा मलाई केही पनि चाहिँदैन, म चाहीँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओच्छ्यान लगाउने हो । त्यहीँ काम गर्ने हो ।’ साथै उनले युवाहरुलाई आफूलाई मन लागेको र अरुको पछि नलागी आफ्नो बुद्धिले ठिक लागेको कुरा गर्न सन्देश दिए ।


























































