काठमाडौँ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।
सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि उद्योग मन्त्रालय पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाइ उचित रोजगारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै उनले सरकारले नेपालमा उत्पादित काठबाट बनेका फर्निचरहरु मात्रै प्रयोग प्राथमिकता दिने निर्णयका साथै अनलाइन सेवा विस्तारसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।
सो क्रममा मन्त्री सिन्हाले निकै भावुक हुँदै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली दिए । उनले शहीदको आहुति खेर जान नदिने प्रतिवद्धता जनाउदै देश र जनताका लागि गम्भीर भएर काम गर्ने प्रतिवद्धता जनाए ।
मन्त्री सिन्हाले वैदेशिक रोजगारीमा गएर फर्केका सीपलाई स्वदेशमा नै उपयोग गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान दिने बताए । मन्त्री सिन्हाले मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानून मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने जानकारी दिए ।


























































