काठमाडौं–धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुमध्ये दुई जना मोरङका र एक–एक जना सुनसरी र झापाका रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले मोरङका दुई जनालाई घटना भएकै दिन आइतबार र अरु दुई जनालाई बुधबार साँझ पक्राउ गरेको हो । मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानको क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए ।


ADVERTISEMENT

# # #


‘घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ ‘सत्यतथ्य पत्ता लागेपछि हामी सार्वजनिक गर्छौं’ उनले भने । प्रहरीले घटना भएको दिन विराटनगरबाट दुई जनालाई पक्राउ गरेको थियो । थप दुई जनालाई भने बु्धबार साँझ पक्राउ गरेको हो ।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेका स्वामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । गोली लागेर घाइते भएका स्वामीको अवस्था खतरामुक्त रहेको न्यूरो अस्पतालले जानकारी दिएको छ ।

लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन् ।