काठमाडौं– प्रदेश समन्वय परिषद बैठकको माग गर्दै बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाईएको छ ।


ADVERTISEMENT


गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद बैठकको माग गर्दै बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।


ADVERTISEMENT

# # #


ज्ञापनपत्रमा प्रदेश समन्वय परिषदको बैठक यथाशिघ्र बोलाई वर्तमान परिस्थितिको समीक्षा गर्दै प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी अन्तरसम्बन्ध र सहकार्य, जेन–जी प्रर्दशनका क्रममा भएको क्षतिको समीक्षा गर्दै पुननिर्माण तथा पुनस्र्थापना योजना निर्माण, चालु आव २०८२/०८३ का स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गरिनुपर्ने उल्लेख छ ।

त्यस्तै, बैठकमा क्षतिग्रस्त स्थानीय सरकार र जिल्ला समन्वय समितिका संरचनाहरूको अस्थायी व्यवस्था गरी सेवा प्रवाहलाई सुचारु गर्नका लागि सहजीकरण गर्न विकास साझेदार निकायहरू र प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (पिएलजिएसपी) लगायतका स्रोतसाधनलाई प्रभावकारी उपयोग गर्न प्रदेश निर्देशक समितिको बैठक गरी उचित निर्णय लिनुपर्ने, राष्ट्रिय समन्वय परिषदको तत्काल बैठक आव्हान गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने र प्रदेश समन्वय परिषदको तर्फबाट राष्ट्रिय समन्वय परिषदमा पेश गर्नुपर्ने एजेण्डाहरुको बारेमा छलफल हुनपर्ने जनाईएको छ ।

संघरमहासंघले पछिल्लो समय स्थानीय सरकारका जनप्रतिनिधिलाई धम्की आईरहेकाले शान्तिसुरक्षा र सुव्यवस्था कायम गर्नुका साथै स्थानीय सरकारका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूलाई भयरहित रूपमा सेवा प्रवाहलाई सुचारु गर्न विश्वस्त वातावरण तयार गर्नुपर्ने, जेन–जी प्रर्दशनका क्रममा आगजनी, तोडफोड, चोरी, लुटपाट गर्ने, धाकधम्की दिने कार्यमा संलग्नहरूलाई अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याईनुपर्ने, स्थानीय सरकारलाई प्राप्त हुने समानिकरण अनुदानका साथै जिल्ला समन्वय समितिलाई प्राप्त हुने अनुदान कटौति नहुने बिषय सुनिश्चित गरिनुपर्ने माग गरेका छन् ।

संघ–महासंघले जेन–जी प्रदर्शनका क्रममा दुःखद निधन भएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध गर्न सम्बन्धित पक्षसंग माग समेत गरिएको छ । संघरमहासंघ जेन–जी प्रदर्शनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिता जस्ता जायज मागमा समर्थन जनाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री बानियाँले संघरमहासंघले उठाएका विषयहरुलाई सम्बोधन गर्न यथाशिघ्र प्रदेश समन्वय परिषदको बैठक बोलाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, सचिव सानुकाजी लुईटेल, सहसचिव तारा ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।