काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलगत स्वार्थ त्याग्न र एकतावद्ध भई अघि बढ्न सबै नेपालीहरुलाई आह्वान गरेका छन् । देशमा आर्थिक विकास गर्न र जनआकांक्षा पूरा गर्न सबै एकजुट हुनुको विकल्प नभएको सभापति देउवाको भनाइ छ ।


ADVERTISEMENT


नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भनेका छन्, ‘मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ(आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ ।’


ADVERTISEMENT

# # #


संविधानको सफल कार्यान्वयन भइसकेको र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएकोले अब आर्थिक विकासमा अघि बढ्नुपर्नेमा देउवाले जोड दिएका छन् । देउवाले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनु पर्ने बेला आएको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७५ लेसबैलाई प्रेरणा प्रदान गर्ने विश्वास उनले लिएका छन् । सभापति देउवाले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।