काठमाडौं– राष्ट्रियसभाले प्रदेश र स्थानीय तहको सरोकारलाई पनि सम्बोधन हुने गरी समिति बनाउने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहको सरोकारमा पनि छलफल गर्न समितिनै बनाउने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रदेश र स्थानीय तहको सरोकारलाई सम्बोधन गर्न आवश्यक परे उनीहरुसँग सोझै छलफल गर्ने कार्यादेशसहितको समिति बनाउन लागिएको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा नियमावली मस्यौंदा समितिले समितिहरु निर्माणका विषयमा छलफल गरिरहेको छ । अध्यक्ष तिमिल्सिनाले मुलुकको विधि, सुशासन र सरकारलाई प्रभावकारी बनाउने विषयमा राष्ट्रियसभाले आवश्यक परे स्थानीय तहको समेत सुझाव लिने गरी समिति बनाउन लागिएको बताए । समितिले स्थानीय तहको सरोकारको विषयमा स्थानीय तहसँग र प्रदेशको सरोकारको विषयमा प्रदेशसँग आवश्यक परामर्श लिने काम गर्नेछ ।

राष्ट्रियसभाले सभामा निर्णयार्थ पेश गरिएका सबै प्रस्तावहरु सर्वसम्मतिमै पास गर्ने योजना पनि बनाएको छ । अध्यक्ष तिमिल्सिनाले सर्वसम्मति हुन नसकेका विषयमा भने बहुमतबाट निर्णय लिनुको विकल्प नरहेको पनि स्पष्ट पारे । राष्ट्रियसभालाई विवादमा आउन दिन नहुने अध्यक्ष तिमिल्सिनाको भनाई छ । उनले लोकतान्त्रिक विधिसम्मत ढंगले राष्ट्रिय सभाले आफ्नो दायित्व निर्वाह गर्ने पनि बताए । अध्यक्ष तिमिल्सिनाले ऐन, कानुन निर्माणमा राष्ट्रियसभा केन्द्रित हुने पनि बताए ।