काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग जोडिएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्ने बताएका छन् ।


ADVERTISEMENT


चदिने चीन भ्रमणमा जानुअघि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरनिको राजमार्ग आसपासका नागरिकको जीवनसँग जोडिएको र नेपाल–चीनको सीमापार व्यापारसम्बन्धको महत्त्वपूर्ण हिस्सा बनेको तातोपानी नाका खुलाउन प्रयत्न गर्ने बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै बुढीगण्डकी परियोजनाका विषयमा भने सरकारले अध्ययन गरिरहेको उनको भनाइ थियो । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत परियोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले ठेक्का पाएको थियो । तर, देउवा नेतृत्वको सरकारले उक्त सम्झौता रद्द गरेको थियो ।

“बुढीगण्डकीको विषय अहिले भ्रमणको एजेन्डामा छैन,” ज्ञवालीले प्रष्ट्याए, “पूर्ववर्ती सरकारले गरेका निर्णय हामी अध्ययन गर्दैछौँ ।”

क्रस बोर्डर ट्रान्समिसन, पारवहन र पूर्वाधारका विषयमा छलफल

क्रस बोर्डर ट्रान्समिसन, पारवहन र पूर्वाधारका विषय भ्रमणका एजेन्डा रहेको ज्ञवालीको भनाइ थियो ।

क्रस बोर्डर ट्रान्समिसन लाइनमा केरला र रसुवागढी नाकाको सम्भाव्यता अध्ययन भइरहेको बताउँदै मन्त्री ज्ञवालीले पारवहन सम्झौतामा भएको प्रगतिको समीक्षा गरिनेसमेत जानकारी दिए । त्यस्तै पूर्वाधारमा सडक, रेल्वे लगायतका विषय छलफल हुने उनले बताए ।

प्रधानमन्त्रीको भ्रमणको टुंगो छैन

सन् २०१८ महत्त्वपूर्ण भ्रमणको वर्ष भएको दोहोर्याउँदै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने भए पनि मितिको टुंगो लागिनसकेको जिकिर गरे । “मैले कार्यभार सम्हालनेबित्तिकै भनेको थिएँ,” उनले भने, “सन् २०१८ महत्त्वपूर्ण भ्रमण वर्ष हो । प्रधानमन्त्रीको उच्चस्तरीय चीन भ्रमण हुन सक्छ तर, मिति तय भइसकेको छैन ।”

उनले द्विपक्षीय हितको सम्वद्र्धन र विकासका लागि भ्रमण केन्द्रित रहेको बताउँदै चीनसँग विगतमा भएको सम्झौता र सहमतिको मिहीन समीक्षा गरिने प्रष्ट्याए । चिनियाँ समकक्षी वाङयिको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँ जान लागेको बताउँदै वाङयिसँग द्विपक्षीय भेटघाट गर्ने ज्ञवालीको कार्यतालिका छ ।

भ्रमणपश्चात दुवैले संयुक्त रुपमा प्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले प्रष्ट्याए । बेइजिङ्ग बसाइको समयमा त्यहाँका उच्च नेतासँग भेटघाटको कार्यक्रम रहेको उनले बताए । बेजिङ्गमा रहँदा चाइनिज थिङ्कट्यांकको राउण्ड टेबल बैठकलाई सम्बोधन गर्ने त्यसपछि सिचुआँन प्रान्तको छेन्दु सहर पुग्न उनले बताए । सिचुआन प्रान्तको उच्च नेतृत्ववर्गसँग भेटघाट र सिचुआन विश्वविद्यालयमा हुने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यतालिका रहेको ज्ञवाली प्रष्ट्याउँछन् । भ्रमण दलमा चीनका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका अधिकारी र दूतावासका अधिकारी छन् ।