लुम्बिनी–नगरपालिकाका उपप्रमुख र उपभोक्ता समितिले नै तालाबन्दी गरेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको कामकाज ठप्प भएको छ । गत शुक्रबार उपप्रमुख जानकी देवी श्रीवास्तवले नगरपालिकाका प्रशासकीय अधिकृत मोहन पौडेललाई बाहिर निकाली उनको कार्यकक्षमा तालाबन्दी गरेकी थिइन् ।


ADVERTISEMENT


त्यसको विरोधमा उपभोक्ता समितिले नगरपालिकाका सबै शाखाहरूमा सोमबार तालाबन्दी गरेका छन् । वार्षिक योजना फर्छ्योट हुने समयमा भएको तालाबन्दीको कारण नगरपालिकाको सबै कार्यतालिका प्रभावित भएको छ । गत कात्तिकदेखि प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले आफू नगरपालिकामा गएदेखि नै उपप्रमुखले गाडी भाडा रकम माग गर्दै आएको र नगरपरिषद् र नगरकार्यपालिकाको निर्णय विपरीत रकम दिन नसकेपछि आफ्नो कार्यकक्षमा तालाबन्दी गरिएको बताए ।


ADVERTISEMENT

# # #


पौडेलले कार्यकक्षमा तालाबन्दी गरेपछि उपप्रमुखको नेतृत्वमा वडा नम्बर ३ का अध्यक्ष अकारामुद्धिन नाउ मुसलमान, वडा नम्बर ७ का अध्यक्ष ध्रुव यादव र वडा नम्बर–१० का अध्यक्ष रामजान अन्सारी आफ्नो निवासमा आई निवास समेत छोड्न भन्दै धम्की दिएपछि सुरक्षाको लागि भैरहवा बस्दै आएको स्रोतबाट जानकारी प्राप्त भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको एउटा गाडी कार्यकारी अधिकृतले प्रयोग गर्दै आएको र गाडी खरिद गर्ने स्रोत नभएको भन्दै नगरपरिषद्को निर्णयबाट नै गत साउनदेखि नगरप्रमुखले मासिक १ लाख रुपैयाँ भाडा तिरेर गाडी प्रयोग गर्दै आएको पौडेलले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिका पडरिया निवासी बसिउल्लाह मुसलमानको नाममा नगरप्रमुख चौधरीले प्रयोग गर्दै आएको बा १७ च ६०९ नम्बरको गाडीभाडा बापत एक लाख रुपैयाँको चेक काट्ने गरिएको लेखाप्रमुख आलोक बानियाँले जानकारी दिए ।

प्रमुखले गाडी भाडा रकम पाउने भएपछि उपप्रमुखले आफूलाई पनि गाडीभाडा रकम दिन दबाब दिँदै आएपछि विवाद बढेको उनले बताए । उपप्रमुख श्रीवास्तवले प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाको आम्दानी खर्च प्रत्येक महिना पेश नगरेको, बोर्डको निर्णय बिना कर्मचारी भर्ना गरेको आरोप लगाएकी छिन् ।

नगरअधिकृत पौडेलले कार्यालयमा विषयगत कार्यालयहरूको जिम्मेवारी समेत थपिएपछि कामको चापले अस्थायी रूपमा एक जना कर्मचारी नियुक्त गरेको जानकारी दिए । कामको चाप र आवश्यकता हेरी नगरअधिकृतलाई कामचलाउ कर्मचारी राख्ने अधिकार रहेको र सोही बमोजिम एक जना कर्मचारी राखेको उनले बताए ।

उपप्रमुख र प्रशासकीय अधिकृतबीचको आपसी विवादको कारण नगरपालिकाका कर्मचारी र सेवाग्राही समेत विभाजित भएका छन् । तालाबन्दीका कारण विगत पाँच दिनदेखि नगरपालिकाको कामकाज ठप्प भएपछि सोमबार जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतसँग छलफल गरी समस्या समाधान गर्न आग्रह गरेको बताए ।