काठमाडौं–प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाँच जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानमा सहभागी भएका छन् । मुख्यमन्त्री पोखरेलले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गोरक्षरत्ननाथ माविमा विपन्न र अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी शैक्षिक जिम्मेवारी लिने जनाएका हुन् ।


ADVERTISEMENT


घोराही ४ गोग्लीका शिवु चौधरी र घोराही १७ चौघेराका आशिका चौधरीलाई कक्षा १ र घोराही १७ चौघेराका राजन शर्मा, कल्पना योगी र कमल बुढालाई कक्षा ४ मा भर्ना गराउँदै मुख्यमन्त्रीको सचिवालय र परिवारले अभिभावकत्व ग्रहण गरेको हो ।


ADVERTISEMENT

# # #


आफूसँगै पत्नी सुजिता शाक्य, दुई छोरी अंकिता–आकृति पोखरेल र मुख्यमन्त्रीका स्वकिय सचिव सरोज रेग्मीले पाँच बालबालिकाको एकएक जनाको दरले अभिभावकत्व ग्रहण गर्ने मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अत्यन्त मिहिनेत गर्नुपर्ने बताउँदै गुणस्तर सुधार गर्न सके भर्ना अभियान अझै प्रभावकारी हुने बताए ।

उनले विद्यालय जानबाट बञ्चित बालबालिकाको अभिभावक बन्न पाउँदा खुशी लागेको बताउँदै यो अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले विपन्न र अभिभावकविहीन बालबालिकाको अभिभावक बनेर साथ दिएकोमा आफूलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न हौसला मिलेको बताए ।