काठमाडौँ – आजदेखि ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपाले विजयी सरुवात गरेको छ । नेपालले बुधबार आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको हो । १४२ रनको चुनौती पच्छ्याउँदै मैदान प्रवेश गरेको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमै समेटिएको हो । आजको जितसँगै नेपालले महत्वपूर्ण २ अंक बटुलेको छ ।


ADVERTISEMENT

# # #


ब्याटिङतर्फ कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए । यस्तै यस पटेलले १९, मित भवसरले ११ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल, ललित राजवंशी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाए ।

यस्तै गुल्शन झाले ५ बलमा ३ छक्का प्रहार गर्दै २० रनमा आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १६ रन जोडे भने अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ कुवेतका थादाथिल राजेन्दरन र चिन्थामारा अनुदीपले समान २–२ विकेट लिए । यस्तै अस्लाम मोहम्मद र अकिव फरुकले समान १–१ विकेट आफ्नो नाममा लेखाए । नेपालले दोस्रो खेलमा शुक्रबार जापानको सामना गर्नेछ ।

आगामी वर्ष भारतमा हुने टी–२० पुरुष विश्वकपका लागि पूर्वी एशिया प्यासिफिक र एशिया क्षेत्र छनोटमा ९ टोलीले सहभागिता जनाउँदैछन् । जसका लागि ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘बी’ मा परेको छ । जहाँ जापान र कुवेत रहेका छन् ।

यस्तै समूह ‘ए’मा मलेसिया, कतार र युएई रहेका छन् भने समूह ‘सी’मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् । सुपर सिक्स फर्म्याटमा खेलाइने प्रतियोगिताका उत्कृष्ट ३ टोली विश्वकपमा छनोट हुनेछन् ।

नेपालले लगातार दोस्रो पटक विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ ।