काठमाडौँ – आजदेखि ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको मध्यम चुनौती दिएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै गुल्शन झाले ५ बलमा ३ छक्का प्रहार गर्दै २० रनमा आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १६ रन जोडे भने अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ कुवेतका थादाथिल राजेन्दरन र चिन्थामारा अनुदीपले समान २–२ विकेट लिए । यस्तै अस्लाम मोहम्मद र अकिव फरुकले समान १–१ विकेट आफ्नो नाममा लेखाए । कुवेतले जवाफी ब्याटिङ गर्दैछ ।

आगामी वर्ष भारतमा हुने टी–२० पुरुष विश्वकपका लागि पूर्वी एशिया प्यासिफिक र एशिया क्षेत्र छनोटमा ९ टोलीले सहभागिता जनाउँदैछन् । जसका लागि ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘बी’ मा परेको छ । जहाँ जापान र कुवेत रहेका छन् ।

यस्तै समूह ‘ए’मा मलेसिया, कतार र युएई रहेका छन् भने समूह ‘सी’मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् । सुपर सिक्स फर्म्याटमा खेलाइने प्रतियोगिताका उत्कृष्ट ३ टोली विश्वकपमा छनोट हुनेछन् ।

नेपालले लगातार दोस्रो पटक विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ ।