नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका नव निर्वाचित उपाध्यक्ष पर्शुराम बस्नेतसंग संगठनको बारेमा हिमालय पोष्टले गरेको विशेष कुराकानी :


ADVERTISEMENT


हिजै तपाई युवासंघको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसका लागि बधाई । अब कसरी अगाडि बढ्नुहुन्छ ? कस्तो अनुभव भइरहेको छ ?
सर्वप्रथम तपाईको शुभकामनाका लागि धन्यवाद । अहिले मैँले युवासंघमा लागेको समयको सबैभन्दा गर्वको क्षणको अनुभूति गरिरहेको छु । युवासंघमा विवाद, विकृति र विसंगती छ, पार्टी एकता हुँदैछ तर युवासंघ फुट्दैछ भन्ने जुन किसिमको गलत सन्देश प्रवाह भइरहेको थियो । त्यसको राम्रो जवाफ युवा संघले केन्द्रिय कमिटीको बैठकबाट रिक्त रहेको पदमा नयाँ व्यक्ति चयन गरेर दिएको छ । अध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ । सधैँ विरोधका स्वरहरु आउँथे तर यसपाली त्यो भएन । एकस्वरका साथ, वाम गठबन्धनको लक्ष्य अनुसार युवासंघ अब नयाँ उचाईका साथ जान्छ । यसले एकताको सन्देश पनि दिएको छ । अब सबै जनसंगठनको नेतृत्व सर्वसम्मत चयन हुन्छन् । बहुदल आइसकेपछि पनि धेरै पटक सर्वसम्मतीले नेतृत्व चयन गरेका नजीर पनि हामीसंग छन् । लहान महाधिवेशनमा महेश बस्नेतलाई हामीले सर्वसम्मत नभै बहुमतले चयन गर्योँ । त्यसपछि हामीले बुटवलमा पनि त्यही प्रक्रिया अवलम्बन गर्यौँ । त्यसपछि यो अहिलेको चयन केन्द्रिय कमिटीले गरेको छ ।


ADVERTISEMENT

# # #


रिक्त पदको पूर्ती गर्दै अन्य नेताको व्यवस्थापन कसरी हुन्छ ?

संगठनमा धेरै अग्रज हुनुहुन्छ । उहाँहरुले अब युवालाई मौका दिनुपर्छ भन्ने मेरो मान्यता हो । स्वेच्छिक विदा लिन चाहनेलाई विदा दिएर नयाँ युवा साथीहरुलाई मौका दिएर हामीले युवा संघ नेपाल युवाहरुकै संगठन हो भन्ने सन्देश दिँदैछौँ  । केही व्यक्तिले नेतृत्व हस्तान्तरण गरिसक्नुभएको छ । यसमा सबैभन्दा बढी हार्दिक आभार म कम्रेट राजीव पहारीलाई  व्यक्त गर्न चाहन्छु । यस्तै  पुर्वअध्यक्षहरु महेश वस्नेत, पुर्वअध्यक्ष निरु देवी पाललाई हार्दिक आभार व्यक्त्त गर्दछु । अन्य व्यक्तिपनि धन्यवादका पात्र हुनुहुन्छ, जसले नयाँ साथीहरुलाई मौका दिनुभयो ।

पार्टी एकतापछि युवासंघ र वाईसीएलबीच पनि एकता गर्नुपर्ने होला । तपाईले नयाँ नेतृत्व छानिसक्नु भएको छ । अब कहिलेसम्ममा एकता हुन्छ ?

हाम्रो पार्टी एकता सुनिश्चित छ । मात्रै आज हुने कि भोलि हुने भन्ने कुरा हो । सधैँभरि युवा संघ ‘आम वाम एक ठाम’ को पक्षमा रहँदै आएको छ । यसको अगुवाई कम्रेड केपी ओली र प्रचण्डले गर्नुपर्छ भनेर यस अघि पनि हामीले विभिन्न माध्याममार्फत आवाज उठाएका छौँ । अहिले एकतालाई भाँड्न केही देशी विदेशी षड्यन्त्र भएका छन् । त्यो षड्यन्त्रलाई चिर्नका लागि युवा संघ नेपाल र वाइसीएल संयुक्त रुपमा लाग्नेछ । पार्टी एकतापछि हाम्रो पनि एकता हुने कुरामा दुईमत छैन ।

अहिले युवासंघ नेपालले नयाँ नेतृत्व पाएकोे छ । अब तपाईको कार्ययोजना के हुन्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा त युवा आन्दोलनलाई आधुनिकिकरण गर्नु नै हो । यसलाई नयाँ हिसाबले परिचालन गर्ने कुरा नै कार्ययोजना हो ।  हाम्रो वाम गठबन्धनको घोषणापत्रमा नै भनिएको छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’ । अब सुखी नेपाली बनाउने कुरामा भाषण गरेर मात्र हुँदैन । हाम्रा नेताहरुले देख्नु भएकोे समृद्ध नेपालको सपनालाई साकार बनाउनका लागि सबै जनसंगठनहरुको साथ र सहयोगको आवश्यकता हुन्छ । त्यो जुटाउने कुरामा युवा संघ नेपालले महत्वपूर्ण भूमिका खेल्छ ।

अर्को मुख्य कुरा भनेको युवाहरुलाई उत्पादनसंग जोड्ने कुरा हो । हामीले लामो समयसम्म युवालाई झण्डा र डण्डा बकायौँ, खाली पेट हिंडायौँ । हामीले राजनीतिक आन्दोलनका उपलब्धीहरु पूरा गरिसकेका छौँ । अब हामी टन्न खाएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्छौँ । संगठन भनेका राजनीतिक पार्टीका जननेता जन्माउने फ्याक्ट्री हो । युग सुहाउँदो आधुनिक नेता जन्माउन हामी लाग्नुपर्छ । युवा पलायन रोक्नका लागि नेपालमा नै केही गर्न सकिन्छ भनेर हामी सन्देश प्रवाह गर्न लाग्छौँ । अबको नेतृत्व यिनै काममा केन्द्रित हुनेछ ।

पार्टीमा जस्तै युवासंघमा पनि गुट-उपगुट छन् भनिन्छ । यसको अन्त्यका लागि अबको नेतृत्व कसरी अगाडि बढ्छ ?

होइन । युवा संघ लामो समयदेखि नै एक ढिक्का थियो । एउटा शक्तिशाली संगठन भएको हुनाले विभिन्न कोणबाट यसलाई कमजोर बनाउने चलखेल भए । अब ती चलखेलहरु समाप्त भइसकेका छन् । युवा आन्दोलनलाई कमजोर बनाउनका लागि कुनै कुनामा बसेर विभिन्न रणनीति बन्ने गर्थे । तर अब युवासंघ नेपाललाई फुटाउँछौँ भन्ने सपना नदेखे हुन्छ । अब हाम्रो संगठन गुटरहित नि:स्वार्थ रुपमा काम गर्छ । हिजोको जस्तो युवा आन्दोलनलाई विफल बनाउने गल्ती यो नेतृत्वले गर्दैन । अघिल्लो नेतृत्वका सकारात्मक कुराहरु आत्मसाथ गर्दै हामी एक मतका साथ अगाडि बढ्छौँ ।