काठमाडौं–तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा तीन चिरा भएको थियो । पार्टी विभाजनका कारण राप्रपाले अप्रत्याशित हार व्यहोरेको भन्दै प्रजातान्त्रिक शक्ति बलियो बनाउन एकजुट हुनुपर्ने धारणा तीनवटै राप्रपाका नेताले बताउँदै आएका थिए ।


ADVERTISEMENT


पछिल्लो समय राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, राप्रपा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र राप्रपाकै उपाध्यक्ष बुद्धिमान तामाङ तीन चिरामा विभक्त पार्टी जुटाउने पहलकदमीमा लागेका हुन् । उनीहरूबीच चन्द निवास लोकन्थलीमा तीनपटक अनौपचारिक वार्ता भइसकेको स्रोतले बतायो । राप्रपा स्थापना भएको १५ जेठमा पार्टीलाई एकढिक्का बनाउने गरी नेताहरूले प्रयास थालेका हुन् । राप्रपा १५ जेठ ०४७ मा स्थापना भएको थियो ।


ADVERTISEMENT

# # #


राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले आफू तीन धारको राप्रपालाई एकढिक्का बनाउन लागिरहेको बताए । ‘पार्टीको तीन धार एक बनाउने प्रयत्नमा म छु,’ उनले भने, ‘पार्टीलाई पुनः एक बनाउनुपर्छ भन्नेमा नेताहरू सकारात्मक हुनुहुन्छ ।’

स्रोतका अनुसार लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउने, नभए चार नेता सम्मिलित अध्यक्षमण्डल बनाएर अघि बढ्ने विकल्पमा नेताहरूबीच छलफल चलिरहेको छ । मुलुकको प्रधानमन्त्री बनिसकेको र उनी नेतृत्वको मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा मन्त्री रहेकाले चन्दलाई अध्यक्ष मान्न अन्य नेताहरूलाई अप्ठ्यारो नपर्ने भन्दै अध्यक्ष बन्न प्रस्ताव गरिरहेका छन् ।

त्यो विकल्प सम्भव नभएमा चन्द, राणा, थापा र डा. लोहनी रहेको अध्यक्षमण्डल बनाएर अघि बढ्ने र १५ जेठमा पार्टी एकीकरण गर्ने गरी छलफल चलिरहेको छ । तर, दुवै विकल्पमा डा.लोहनी र थापाले नमानेकाले औपचारिक वार्ता गर्न केही ढिलाइ भइरहेको नेताहरू बताउँछन् ।

सबै प्रजातान्त्रिक शक्ति मिल्नुपर्छः राणा
राप्रपाको तीन धार मिल्दै प्रजातान्त्रिक शक्ति बलियो नबन्ने राणाको भनाइ छ । अहिलेको वाम गठबन्धनलाई टक्कर दिने प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपाको तीन धारसँगै कांग्रेस र मधेसकेन्द्रित दल पनि मिल्नुपर्ने उनले बताए । ‘लोकतान्त्रिक शक्ति बलियो बन्नुपर्छ, त्यसका लागि राप्रपाका तीन धार मिलेर मात्र हुँदैन, कांग्रेस र मधेसकेन्द्रित दल पनि मिल्नुपर्छ,’ राणाले भने, ‘अब हामी कांग्रेस र मधेसकेन्द्रित दलसँग पनि यस विषयमा छलफल गर्छौं । – आजको नयाँ पत्रिकाबाट