काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्समा नेपालले आयोजक ओमानलाई १५२ रनको चुनौती दिएको छ ।
ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।
उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि ७.३ ओभरमा ६१ रनको शानदार साझेदारी गरेको नेपालले त्यसपछि निन्तर विकेट गुमाउँदा उच्च स्कोर बनाउन सकेन । त्यसपछिका २६ बलमा १८ रन मात्रै जोड्दा नेपालले महत्वपूर्ण थप ३ विकेट गुमाउन पुग्यो ।
पहिलो विकेटका रुपमा आशिफ शेखलाई व्यक्तिगत २० बलमा २ चौका र १ छक्काको मदतमा २४ रनमा गुमायो भने यही बीचमा कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी १ तथा कुशल मल्ल ७ रनमा आउट भए । यस्तै आदिल आलमले १५ बलमा १६ रन तथा गुल्शन झाले १० बलमा २ छक्काको मतमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
ओमानका बलर नदिम खानका अघि नेपाली ब्याटर निरीह देखिए । शानदार बलिङ गरेपछि गरेको उनले ४ ओभरमा २० रन मात्रै दिएर ४ विकेट चट्काए । यस्तै जितेन रामनन्दी र सुफयान मेहमुदले समान २–२ विकेट लिए ।
आजको खेल अगावै विश्वकपमा पुगिसकेका र दुवै टोली अपराजित रहेकाले आज जित निकाल्दै उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।



























































