काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्समा नेपालले आयोजक ओमानलाई ३८ रनले हराएको छ ।
ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमान ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमै समेटिएको हो ।
ओमानका लागि ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए । आक्रामक ब्याटिङ गरेका १९ बलमा १ चौका र ३ छक्का ठोके । यस्तै मोहम्मद नादिमले ३१ बलमा १ छक्का सहित २५ रन जोडे। यस्तै कप्तान जतिन्दर सिंहले १४ तथा आर्यान बिष्टले ११ रनमा आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ नेपालका गुल्शन झाले ४ ओभरमा ३१ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए भने नन्दन यादव र सन्दीप लामिछानेले समान ४ ओभरमा समान १९ रन दिएर क्रमशः २ र १ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ नेपालका कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि ७.३ ओभरमा ६१ रनको शानदार साझेदारी गरेको नेपालले त्यसपछि निन्तर विकेट गुमाउँदा उच्च स्कोर बनाउन सकेन । त्यसपछिका २६ बलमा १८ रन मात्रै जोड्दा नेपालले महत्वपूर्ण थप ३ विकेट गुमाउन पुग्यो ।
पहिलो विकेटका रुपमा आशिफ शेखलाई व्यक्तिगत २० बलमा २ चौका र १ छक्काको मदतमा २४ रनमा गुमायो भने यही बीचमा कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी १ तथा कुशल मल्ल ७ रनमा आउट भए । यस्तै आदिल आलमले १५ बलमा १६ रन तथा गुल्शन झाले १० बलमा २ छक्काको मतमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
ओमानका बलर नदिम खानका अघि नेपाली ब्याटर निरीह देखिए । शानदार बलिङ गरेपछि गरेको उनले ४ ओभरमा २० रन मात्रै दिएर ४ विकेट चट्काए । यस्तै जितेन रामनन्दी र सुफयान मेहमुदले समान २–२ विकेट लिए ।
आजको खेल अगावै नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट भइसकेको छ । नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपमा पुगेको हो । नेपालले पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक गत वर्ष (सन् २०२४) मा विश्वकप खेलेको थियो ।
यता ओमान पनि आजको खेल अगावै विश्वकपमा पुगिसकेको छ । आज ओमानविरुद्ध जित निकालेसँगै नेपालले जारी प्रतियोगिताको उपाधि जित्ने सम्भावना प्रबल बनेको छ ।
हारविहीन नेपालले प्रतियोगिताको अन्तिम खेल पर्सी सामोआसँग खेल्नेछ ।



























































