काठमाडौं–चितवनको मुख्य बजार क्षेत्रमा ट्राफिक लाइट जडान गर्न ८ ठाउँमा सर्वे गरिएको छ । सवारी साधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट राख्न सर्वे गरिएको हो । काठमाडौंको यार्सा टेक्नोलोजी प्रालिले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा ट्राफिक लाइट जडानका लागि सर्वे थालेको हो ।


ADVERTISEMENT


यार्साका संस्थापक इन्जिनियर सिद्धिक अन्सारीले भरतपुर महानगरपालिकाको नारायणगढस्थित पुल्चोक, शहीदचोक, लायन्सचोक, भरतपुरको चौबीसकोठी, हाकिम चोक, बसपार्क, रत्ननगरको सौराहा चोक र टाँडी चोकमा ट्राफिक लाइट राख्न सर्बे गरिएको जानकारी दिए । सोलारसहित ट्राफिक लाइट राख्न सुझाव दिइने उनले बताए ।


ADVERTISEMENT

# # #


इन्जिनियर अन्सारीले चितवनमा सवारी साधनको चाप हेर्दा ट्राफिक लाइट राख्न अत्यावश्यक भइसकेको बताए । उनका अनुसार एउटा चोकमा ट्राफिक लाइट राख्न करिब २० लाख रुपैयाँ खर्च लाग्छ । त्यसभित्र सोलारका साथै जेब्राक्रसिङ समेत निर्माण गरिएको छ । जडानपछि ट्राफिक लाइटमा ५ वर्ष सर्भिस वारेन्टी र एक वर्ष वारेन्टी दिइने उनले बताए । यार्सा टेक्नोलोजीले काठमाडौंमा पनि सोलारसहितको ट्राफिक लाइट जडान गरेको छ ।

ट्राफिक लाइटका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि अग्रसरता लिएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले चितवनमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट अति आवश्यक देखिएकोले सर्वेका लागि यार्सा टेक्नोलोजीसँग सहकार्य गरिएको बताए । अहिलेको अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्न कठिनाई भएकोले यो अत्यावश्यक भएको उनको भनाइ छ ।

ट्राफिक लाइटले सवारी व्यवस्थापनका साथै शहरमा विकासको झल्को समेत दिने ट्राफिक प्रमुख पन्तले बताए ।

भरतपुरमा पछिल्लो समय ट्राफिक व्यवस्थापन गर्न निकै कठिन बन्दै गइरहेको छ । नारायणगढको पुल्चोक, शहीद चोक, लायन्स चोकमा पैदलयात्रुहरुलाई बाटो काट्न समेत मुस्किल हुने गरेको छ ।