काठमाडौँ – गृहमन्त्री ओम प्रकाश अर्यालले पूर्वउर्जामन्त्री तथा नेपाली काँग्रेसका नेता देश छोडेर भागेको विषयमा आफ्नो अभिव्यक्ति सही नै रहेको बताएका छन् । उनले आफूले बोलेको बेला पूर्वमन्त्री खड्का देशमा नरहेको जिकिर गरे ।
तर, गृहमन्त्री अर्यालले खड्का देश छोडेर भागेको भनिरहेका बेला खड्काले भने सोमबार काठमाडौँस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएका थिए । यस विषयमा झुट किन बोलेको भन्ने प्रश्नमा गृहमन्त्री अर्यालले आफूले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको समयमा दीपक खड्का देश बाहिर रहेको र अन्तर्वार्ता प्रकाशित भएका बेला स्वदेश फर्किएको दाबी समेत गरे।
किन अफवाह फैलाउनुभयो भन्ने प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘उहाँले आज पो भन्नुभो, मैँले इन्टरभ्यू दिँदाको समयमा उहाँ कहाँ हुनुहुन्थ्यो, त्यो सोध्नुस् न । उहाँलै नै भन्नुपर्यो ।’ खड्काले आफू स्थलमार्गबाट भारत गएको स्वीकार गरिसकेको भन्दै उनले थपे, ‘उहाँ त इन्टरभ्यू छापिसकेपछि आउनुभो नि ।’


























































