काठमाडौँ – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन् ।
आइतबार सपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री शर्माले उक्त निर्णय गरेकी हुन् । विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने मन्त्री शर्माले बताइन् ।
त्यस्तै उनले भ्रष्टाचारले मुलुकमा निकै समस्या निम्त्याएको भन्दै भ्रष्टाचार बिरुद्ध निर्मम भएर अघि बढ्ने बताइन् । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै स्वरुप भएको भन्दै त्यस बिषयमा बिशेष ख्याल गर्न उनले कर्मचारीलाई निर्देशन समेत दिइन् ।
उनले स्वास्थ्यका खरिद प्रक्रियालाई पूर्णपारदर्शी बनाइ भ्रष्टाचार शून्य नीति अपनाउन समेत निर्देश गरिन् ।
मन्त्री शर्माले जेननी आन्दोलनमा शहीद भएका परिवारका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको र यसका लागि अर्थ मन्त्रालयसंग परामर्श गरेर आवश्यक निर्णय गर्ने जानकारी दिइन् ।


























































