काठमाडौं- बिपक्षी दलको विरोधका कारण प्रतिनिधि सभाको बैठक अबरुद्ध भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बिपक्षी दलका सांसदहरुले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्री उपस्थीत भएर माफी माग्नुपर्ने अडानका साथ विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। त्यसअघि बैठकमा बिपक्षी सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बोल्नका लागि समय दिएका थिए ।
सो क्रममा नेकपाका सांसद बर्षमान पुनले सदनको गतिरोध अन्त्य गर्नको लागि सदन स्थगित गरेर छलफलमा जुट्न आग्रह गरेका थिए । सीमाका बिषयमा प्रधानमन्त्रीको जवाफमा आफुहरुको अडान कायमै रहेको उनले बताएका छन् । उनले सदनलाई सुचारु गर्न सत्तारुढ दलबाट बिभिन्न प्रस्ताव आएको अवस्थामा केही समय बैठक रोकेर छलफल गर्नुपर्ने बताएका छन्।
त्यस्तै एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्तिप्रति भूलसुधार गराउन र सबैको साझा धारणा बन्ने गरी संकल्प प्रस्ताव पारित गरि यस बिषयलाई टुङ्ग्याउन सुझाव दिएका छन् । उनले कसैको स्वार्थका लागि करका दर हेरफेरको बिषय समेत गम्भीर रहेको बताएका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका बिषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने स्पष्ट पारेका छन् ।
त्यसैगरि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय सामान्य नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने माग गरेका छन्। यस बिषयमा अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उनको भनाइ छ ।
बिपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए भने बिपक्षी सांसदहरुले निरन्तर विरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


























































