इलाम–पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले र माओवादी एकतामा कुनै समस्या नभएको बताएका छन् । एमाले–माओवादी एकताबारे अनेक आशंका व्यक्त भइरहेका बेला उनले पार्टी एकतापछि समस्या नआओस् भनेर दुई अध्यक्ष छलफलमा रहेको र अब झ्याप्पै पार्टी एकता हुने दाबी गरे ।


ADVERTISEMENT


‘एमाले–माओवादी एकता प्रक्रियामा कुनै समस्या आएको छैन,’ सोमबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा नेता नेम्वाङले भने, ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको छ । छिट्टै दुई पार्टी एकता हुन्छ ।’


ADVERTISEMENT

# # #


नेम्वाङले निरन्तर वार्तामा बसेर पार्टी एकताको घोषणा गर्ने तयारीमा दुई अध्यक्ष जुटेको भन्दै एकतामा आशंका नगर्न आग्रह गरे ।

दुई पार्टीको एकतालाई निर्वाचनमार्फत मतदाताले अनुमोदन गरिसकेकाले पनि एकताको विकल्प नभएको उनको भनाइ छ । ‘एकता नभए जनतालाई दिने उत्तर हामीसँग छैन,’ नेम्वाङले भने, ‘त्यसैले एकता नहुने प्रश्नै छैन ।’

नेपालको संविधान छोटो समयमा सर्वस्वीकार्य भएको जिकिर गर्दै उनले समृद्धिको यात्रामा वाम सरकार अघि बढेको दाबी गरे ।

यसैबीच, नेम्बाङले इलामको सुकिलुम्बा फाल्गुनन्द एयरपोर्टमा दश दिनभित्रमा टेष्ट फ्लाइट हुने बताएका छन् । एक दशकदेखि निर्माण कार्य शुरु भएको एयरपोर्ट सञ्चालनमा जिल्लाबासीको चासो बढिरहेको बेला नेम्बाङले १० दिनभित्रमा टेष्ट फ्लाइट हुने बताएका हुन् ।

नेम्बाङले झापाको भद्रपुर एयरपोर्टबाट अबको छ महिनाभित्र नाइट लेण्डिङ्ग शुरु हुने बताए । वाम गठबन्धनको सरकार गठन भएदेखि नै आफूले नाइट लेण्डिङ्गको लागि पहल गरेको उनको भनाइ छ ।

२० वर्षे गाडीको विषयमा पुनर्विचार
बीस वर्षे पुराना गाडी हटाउने सरकारको नीतिलाई पनि समय र स्थान अनुरुप बनाउने प्रयास भइरहेको नेम्बाङले बताए । जिल्लाबासीले २० वर्षे गाडी हटाउँदा यातायात सेवा प्रवाहित हुने भन्दै यसको वैकल्पिक व्यवस्था गर्न माग गरेकाले आफूले त्यसतर्फ पहल गरेको उनले बताए । ‘२० वर्षे गाडी हटाउने सरकारको निर्णय स्वागत योग्य भए पनि यसलाई आवश्यकता अनुसार परिमार्जन गर्न आवश्यक छ,’ नेम्बाङले भने, ‘अहिले यसका लागि प्रक्रिया अघि बढिरहेको छ ।’