काठमाडौँ– जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सले सोमबार (आज) राति चेन्नई सुपर किंग्सको सामना गर्दैछ ।


ADVERTISEMENT


पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा हुने खेलमा घरेलु टोली चेन्नईलाई पराजित गर्ने रणनीतिमा दिल्ली रहेको छ । यता, चेन्नई पनि आफ्नो घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै आईपीएलको शीर्ष स्थानमा उक्लिने दाउमा छ ।


ADVERTISEMENT

# # #


भारतका पूर्व कप्तानसमेत रहेका महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नई रहेको छ भने श्रेयस आइयरको कप्तानीमा दिल्ली रहेको छ । यसअघि श्रेयसको कप्तानीमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ५५ रनले पराजित गरेको थियो ।

दिल्लीको लागि यो खेल निकै महत्वपूर्ण हो । आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।

दिल्ली अहिले आईपीएलको पुछारमा छ । ७ खेलमध्ये ५ खेलमा हार र २ खेलमा जित हात पारेको दिल्लीको ४ अंक रहेको छ । आईपीएलको शीर्ष स्थानमा भने सनराइजर्स हैदरावाद रहेको छ । त्यस्तै, दोस्रो स्थानमा चेन्नई रहेको छ भने तेस्रो स्थानमा किंग्स इलाभेन पञ्जाब रहेको छ ।

दिल्लीमा ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, टेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी ८ जना विदेशी खेलाडी छन् । यीमध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउने छन् ।

नेपालका सन्दीपले अहिलेसम्म कुनै खेल पनि खेल्न पाएका छैनन् । अवसरको पर्खाइमा रहेका सन्दीपको आजको खेलमा पनि खेल्ने मौका निकै कम रहेको छ । विदेशी खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले सन्दीले आज पनि बेन्चमै बस्नुपर्ने देखिन्छ ।

खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ ।