डोटी–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच मंगलबार भेटबार्ता भएको छ । मंगलबार बिहान पूर्वप्रधानमन्त्री निवास धनगढीमा भएको भेटबार्तामा वर्तमान राजनीतिक परिस्थिति र प्रदेशको समग्र विकासको बारेमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


ADVERTISEMENT


भेटका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश ७ विकासको दृष्टिले पछाडि परेका कारण यसको समग्र विकासका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । जवाफमा पूर्व प्रधानमन्त्री देउवाले प्रदेश ७ को विकासका लागि आफू सकारात्मक रहेको बताए । प्रदेश ७ मा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको बताउँदै देउवाले यस प्रदेशको विकासका लागि प्रतिपक्षको भूमिका भन्दा पनि सहकार्य गरेर जाने बताएका छन् ।


ADVERTISEMENT

# # #


कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी क्याम्पसको नवनिर्मित भवनको उद्घाटनका लागि गृह प्रदेश पुगेका देउवाले कांग्रेससँग पनि समन्वय गरेर अगाडि बढ्न मुख्यमन्त्री भट्टलाई सुझाव दिएका छन् । ‘पूर्वप्रधानमन्त्री ज्यूले कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भएको छ’ मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह वलीले भने ‘मुख्यमन्त्री ज्यूले पनि आफू सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ ।’

स्वकीय सचिव वलीका अनुसार पूर्वप्रधानमन्त्री देउवाले प्रदेश राजधानी र नामाकरण विषयमा पनि सबै पक्षसँग छलफल गरेर मात्रै निर्णयमा पुग्न सुझाव दिएका छन । ‘राजधानी र नामाकरणले दुरगामी महत्व राख्छ, त्यसैले यसको बिषयमा सत्ता पक्ष, प्रतिपक्ष सबैसँग सल्लाह गरेर अगाडि बढ्नु होला’ देउवाले भने ‘तर यस विषयमा धेरै ढिलो गर्नु हुँदैन, चाँडै निर्णय गरिहाल्नु राम्रो हुन्छ ।’ देउवा नेतृत्वको सरकारले गत माघ ३ गते प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको थियो ।