काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छन् ।
आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन् ।
उनले भनिन्, “आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।”
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उनको निवासमा आगजनी हुँदा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारी सञ्चारकर्मीसँग
काठमाडौँ, १८ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिएपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल÷रासस
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उनलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेका हुन् ।
जेन–जी आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो । उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ ।



























































