काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी क्रियाशील रहेकाले यस कार्यमा सहयोग पुग्ने समाचार सामग्रीलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वसँग छलफल गर्दै उनले यस कार्यमा सरकारी सञ्चारमाध्यम थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


मन्त्री खरेलले सरकारको प्राथमिकतामा रहेको निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा ‘जेनजी’ पुस्ताको भावनाअनुरूपका ‘कन्टेन्ट’ सम्प्रेषण गर्न आग्रह गरे । “सरकार निर्वाचन, सुशासन र जेनजीको आवाजलाई सम्बोधन गर्न क्रियाशील छ । यसमा सबैको सहयोगका लागि पछिल्लो समय चरणबद्ध रूपमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायतसँग वार्ता र संवाद गरेर सहजीकरणमा लागेको छ”, उनले भने, “यसमा आमसञ्चार माध्यमको अझ बढी भूमिका छ । यसमा सरकारी सञ्चार माध्यमले अझै जिम्मेवार रूपमा निर्वाचनको माहोल बनाउन र पछिल्लो समय उत्पन्न परिस्थितिको सहज रूपान्तरणका लागि भूमिका खेल्नसक्छन । त्यसका लागि यहाँहरू सबैलाई मेरो आग्रह छ ।”

निर्वाचनको माहोल बनाउन सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिसँग निरन्तर संवाद र अन्तरक्रिया गरिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा यही कात्तिक १२ गते सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच संयुक्त छलफल भएको थियो । त्यसअघि गत कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलपल भएको थियो । यी छलफलले निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको मन्त्री खेरेलको भनाइ छ । निर्वाचन, सुशासन र जेनजीको भावनाअनुरुप काम गर्न सरकारले सरोकार भएकाहरूसँग निरन्तर विभिन्न चरणमा छलफल र पैरवी गरिरहेको उनले बताए ।

सरकारको प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचन केन्द्रित भएर विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफललाई समेत प्राथमिकतामा राखेको बताए । “फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबै खाले तयारी गरिरहेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जेनजी प्रतिनिधि पनि सकारात्मक र प्रतिबद्ध रहेको पाएका छौँ”, उनले भने, “यिनै विषयवस्तुलाई प्राथमिकतामा राखेर समाचार, तस्बिर, श्रव्यदृश्यलगायत सामग्री पस्कन अनुरोध छ ।”

मन्त्री खरेलले निर्वाचन भएन भने मुलुक सङ्कटतर्फ जानसक्ने खतरा रहने भन्दै सरकार निर्वाचनलाई विशेष प्राथमिकता दिएर आवश्यक तयारीमा जुटिसकेको दोहोर्याए । “यसर्थ राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमले निर्वाचनको पक्षमा बहस र पैरवी गर्न जरूरी छ । सरकारी सञ्चारमाध्यमले निर्वाचन, सुशासन र ‘जेनजी’सम्बन्धी विषयवस्तु उत्पादन, प्रसारण र सम्प्रेषण गर्न जोड दिनुपर्यो । जेनजी समूहको आवाज, सहिद परिवारका भनाइ, उनीहरूका कथा, पीडा, घाइतेका विचारलाई अझ बढी प्राथमिकतामा राखेर प्रकाशन, प्रसारण गर्न मेरो आग्रह छ”, उनले भने ।

सञ्चारमन्त्री खरेलले नागरिक सरकार भएकाले हिजोको जस्तो राजनीतिक दबाब सरकारी सञ्चारमाध्यममा नभएकाले निर्धक्क साथ आमनागरिकको सर्वोपरी हितमा निष्पक्ष, सन्तुलित र विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गरे । उनले परिवर्तित सन्दर्भमा सरकारी सञ्चारमाध्यमले खेलेको भूमिकाको सराहना गर्दै ‘जेनजी भ्वाइस’ शीर्षकमा जेनजी सहिद, घाइते र पीडित परिवारको पीडा, वेदना र समस्यालाई उजागर हुनेगरी समाचार, श्रव्यदृश्यलगायत सामग्री दिन आग्रह गरे ।

छलफलमा सरकारका चारवटै सञ्चारमाध्यमका प्रतिनिधिले निर्वाचनसहित सरकारका गतिविधि, सुशासन, जेनजीका सरोकार र प्राथमिकता, आर्थिक विकासलगायत विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरिएको बताए । उनीहरूले सरकारका काम कारबाहीसम्बन्धी सूचना र गतिविधि एकद्वार प्रणालीमार्फत प्रवाह गर्ने प्रबन्धका निम्ति सञ्चारमन्त्रीसमक्ष आग्रह गरे ।

राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक उत्तम सिल्वालले निर्वाचन, सुशासन र जेनजीको भावनाबमोजिमका समाचार सामग्रीलाई राससले प्राथमिकताका साथ सम्प्रेषण गरिरहेको बताउए । राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले सरकारी निकायको सूचना पहुँच सहज र जेनजी सहिद तथा घाइतेका विषयवस्तुलाई प्राथमिकताका साथ सम्प्रेषण गरिने प्रतिबद्धता जनाए ।

गोरखापत्र संस्थानका निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेतले निर्वाचनको वातावरण बनाउनेगरी विषयवस्तु, सुशासन र जेनजीका विषयलाई समाचार सामग्रीमा प्राथमिकता दिइएको बताए । संस्थानका डिजिटल प्रमुख नारदमणि गौतमले सरकारी सूचना र गतिविधि सङ्घीय सरकारका मन्त्रालय र निकायबाट एकद्वार प्रणालीमा आउनसके सम्प्रेषणमा सहज हुने उल्लेख गरे ।

सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्प राईले परिवर्तित सन्दर्भमा बढी सचेत र संवेदनशील भएर काम भइरहेको जानकारी दिए। नेपाल टेलिभिजनका अनलाइन संयोजक गोविन्द धितालले निर्वाचनका मुख्य पक्ष राजनीतिक दललाई निर्वाचनको पक्षमा लैजान तथा जेनजी समूहको आधिकारिकता र प्राथमिकताका विषयलाई सम्प्रेषण गरिने प्रतिबद्धता जनाए ।

सार्वजनिक सेवा प्रसारण नेपाल,रेडियो नेपालका समाचार महाशाखा प्रमुख पवन प्याकुरेलले निर्वाचनको माहोल बनाउन सरकार, राजनीतिक दल र जेनजीको भूमिकाको विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने काम भइरहेको जानकारी गराए । रेडियोका उपनिर्देशक प्रमोद दाहालले सरकारको प्राथमिकताको आधारमा विषयवस्तुमा एकरुपता कायम गरिनुपर्ने, निर्वाचन र जेनजीको आवाजलाई विशेष प्राथमिकता दिइनुपर्नेमा जोड दिए । रासस