काठमाडौं–नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँगको एकतामा अन्तिम बार्गेनिङ चलिरहेको बताएका छन् । आफूनिकट केही नेताहरूलाई ओलीले पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साह्रै बार्गेनिङ गरिरहेको बताएका हुन् ।


ADVERTISEMENT


‘प्रचण्ड साह्रै बार्गेनिङ गर्ने मान्छे रैछन, धेरै बार्गेनिङ गरिरहेका छन् तैपनि एकता त गर्नैपर्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक एमाले नेताले स्रोतलाई जानकारी गराएका छन् । दाहालले अहिले मुख्य दुई विषयमा बार्गेनिङ गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


समानताका आधारमा एकता हुनुपर्ने भन्दै उनले केन्द्रीय समितिमा माओवादीको प्रतिनिधित्व कम्तिमा ४५ प्रतिशत हुनु पर्ने माग गरेका छन् । यसअघि एमाले र माओवादीले बनाएको सांगठानिक समितिले नयाँ पार्टीको केन्द्रीय समिति ३ सय जनाको हाराहारीमा हुने प्रस्ताव गरेको थियो ।

अहिले २०९ जना एमाले केन्द्रीय सदस्य छन् । त्यसमा बाँकी माओवादीबाट थपेर ३०० जना पुर्‍याउने एमाले प्रस्ताव छ । सोही समितिले केन्द्रीय समितिको एक तिहाइ पोलिटब्यूरो र त्यसको एक तिहाइ स्थायी समिति हुने प्रस्ताव गरेको छ ।

‘माओवादीकै ४५ प्रतिशत केन्द्रीय सदस्य बनाउने भएपछि अब नयाँ पार्टीको केन्द्रीय समितिको आकार बढ्ने भयो,’ ती नेताले भने । दाहालको अर्को मुख्य चासो एकतापछि हुने महाधिवेशनबाट नेतृत्व कसरी हस्तान्तरण हुन्छ भन्नेमा छ ।

उनले यो कुरा पहिलादेखि नै प्राथमिकताका साथ उठाउँदै आएका छन् । वैशाख ४ गते बालुवाटारमा भएको एकता संयोजन समितिको बैठकमा दाहालले महाधिवेशन कसरी हुन्छ, महाधिवेशनमा चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्न राखेका थिए ।

एकतापछि नेतृत्व आफूमा आउँछ भन्ने कुरामा दाहाल आश्वस्त हुन चाहन्छन् । नयाँ पार्टीको चुनाव चिन्ह र ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणबारे भने सहमतिमा पुगेको ओलीले नेताहरूलाई जानकारी दिएका छन् । उनका अनुसार नयाँ पार्टीको चुनाव चिन्ह सूर्य राख्न र ‘जनयुद्ध’ ठीक थियो नभनी अहिलेको परिवर्तनमा ‘जनयुद्ध’को भूमिका थियो भनेर राख्न दाहाल सहमत भएका छन् ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकमा माओवादी अध्यक्ष दाहालले पनि राजनीतिक विषय सहमति भइसकेको बताएका थिए । ‘लगभग सबै सैद्धान्तिक विषयमा सहमति भइसकेको छ, अब तपाईंहरूलाई एकताको अन्तिम बैठकमा डाक्छु,’ दाहाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक माओवादी नेताले स्रोतसँग भने, ‘मार्क्सजयन्तीको अवसर पारेर शनिबार एकताको मिति घोषणा गर्ने हाम्रो तयारी छ ।’

एकताका विषयमा ओली र दाहालबीच बालुवाटारमा एक्लाएक्लै वार्ता जारी छ । आजै एकता संयोजन समितिको बैठक बस्न सक्ने दुबै पार्टीका नेताहरूले बताएका छन् ।

 

सेतोपाटीबाट