काठमाडौं–सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।


ADVERTISEMENT


काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । प्रदेश ५ को राजधानी बटवलमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । यातायात व्यवसायीको हड्तालको प्रभाव प्रदेश नंं ५ का जिल्लाहरुमा पनि परेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश ५ को अस्थायी राजधानी बुटवलस्थित लुम्बिनी बस टर्मिटनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण यातायात व्यवसायीका संघ–समितिहरुले बस–जीप चलाएका छैनन् ।

बस टर्मिनलभित्र रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् । बुटवलको नयाँ बसपार्कमा एउटा पनि सवारी साधन छैन ।

पाल्पाको श्रीनगर बस समितिले पनि बस चलाएको छैन । २४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश ५ का सबै जिल्लामा बस सञ्चालन गरिरहेको थियो भने अन्य समितिले जिल्ला–जिल्लामा चलाइरहेका थिए ।

बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल कलेज जाने विद्यार्थीहरु तथा र कक्षा १२ का बिद्यार्थीहरुलाई परिक्षा भएको कारणले पनि हड्तालले समस्यामा परेका छन् । धनगढीमा पनि सार्वजनिक सवारी नचल्दा सडक सुनसान देखिएको छ । पश्चिमदेखि पूर्वसम्मका शहरहरुमा सिण्डिकेटका पक्षधरहरुको बन्दको प्रभाव परेको छ ।

यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले बैसाख २१ (आज) देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् । सरकारले यातायात व्यवसायीसँग घुँडा नटेक्ने बताउँदै आएको छ भने व्यवसायीहरु सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आएका छन् । सरकार भर्सेस व्यवसायीको द्वन्द्वको मारमा जनता परेका छन् ।

पश्चिम नेपाल बस व्यवसायी संघले बैसाख २१ गते बिहान ४ बजेदेखि २२ गते बिहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । सत्तारुढ वामपन्थीहरुकै नेतृत्व रहेको पश्चिम नेपाल र पृथ्वी यातायातले विहीबार सरकारसंँग वार्ता गरे पनि सहमतिमा पुग्न नसकेकाले आन्दोलनलाई निरन्तरता दिइने पश्चिम नेपालका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निणर्चय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् ।