काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सहसंयोजक नेपालले जनतामा विश्वास दिलाउनका लागि विगतका कमीकमजोरीलाई सच्चाउदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरुप नभएको भन्दै उनले परिवर्तनको सम्वाहक बनेर जनताको मनमा बस्नेगरी अघि बढ्नुपर्ने बताए । उनले परिवर्तनका शक्तिहरुसंग सहकार्य वा मोर्चा बनाएर संविधान र गणतन्त्रको रक्षा गर्नका लागि हातेमालो गर्न पहल गरिने उल्लेख गरे ।
सहसंयोजक नेपालले जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न यो पार्टी अघि बढ्ने बताए । उनले भने, “आज हामीले एतिहासिक काम सम्पन्न र एतिहासिक सुरुवात गरेको छौँ । यसले सिङ्गो नेपाली राजनीतिमा तरङ्ग पैदा गर्नेछ । नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।”
मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले मुलुकका समस्या समाधान गर्न अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वान गरे । “ढिला नगर्नुस्, जनताको भावना र समयको महत्त्व बुझ्नुस्, आउनुहोस्, एकताबद्ध भएर अघि बढ्ने निर्णय गरौँ,” सहसंयोजक नेपालले भने ।
बन्देज, आग्रह र पूर्वग्रह नराखी सबैलाई समेट्नेगरी गोलबद्ध गरेर अघि बढ्न चाहेको भन्दै उनले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । जेनजी युवाहरुको मुद्दालाई पनि आफूहरुले प्राथमिकतामा राखेर अघि बढाउने उनको भनाइ छ ।
सहसंयोजक नेपालले नवयुवा जेनजीका मुद्दालाई समेतसंगै लिएर जाने बताए । नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको मूल कम्युनिष्ट पाटी बनाइने जिकिर गरे ।


























































