काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले पार्टी महाधिवेशनको मितिमा विषयमा आ–आफ्नो अडान कायमै राखेका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापनइतरसमूहका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
केहि केन्द्रीय सदस्यहरुले भने विशेष महाधिवेशनमा गएर पार्टीलाई एकढिक्का बनाउनुपर्ने धारणा राखेका छन् । महाधिवेशन विवादका कारण कांग्रेस बैठक लम्बिएको छ ।
अझै तीन दिन केन्द्रीय कार्यसमिति चल्ने र महाधिवेशनका विषयमा एउटै प्रस्ताव पारित गर्ने गरी सहमतिको प्रयास भइरहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि मंगलबार महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग–अलग कार्यतालिका प्रस्तुत गरेका थिए ।
बुधबार सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी लगायतले धारणा राखेका थिए । बैठक बिहीबार बिहान ११ः३० बजे पुन बस्ने प्रवक्ता महतले बताए ।


























































