काठमाडौं–दिल्ली डेयरडेभिल्सको इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएसँगै दिल्ली प्लेअफमा पुग्ने गणितीय सम्भावना मात्र कायम भएको हो । दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदराबादले अन्तिम बल बाँकी छँदा प्राप्त गर्‍यो ।


ADVERTISEMENT


ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । उनीहरूले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे । हेल्सले ४५ रन जोडे भने धवनले ३३ रन बनाए।


ADVERTISEMENT

# # #


त्यसपछि कप्तान केन विलियमसन र मनिष पान्डेले टोलीलाई जिततर्फ डोर्‍याए । विलियमसनले नटआउट ३२ तथा मनिषले २१ रन जोडे । तेस्रो विकेटका लागि यी दुईले ४६ रनको साझेदारी गरेका थिए । युसुफ पठानले नटआउट २७ रन जोडेपछि हैदराबादको जित पक्का भएको थियो । दिल्लीका लागि अमित मिश्राले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । उसका लागि पृथ्वी सअले ६५ रन बनाए । ३६ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान श्रेयस ऐयरले ४२ तथा विजय शंकरले २३ रन जोडेका थिए ।

ऋषभ पन्त शनिबार १४ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल २ ततानमन ओझा १ रनमा पेभेलियन फर्किए । हैदरावादका राशीद खानले २ तथा सिद्धार्थ कलले १ विकेट हात लिएका थिए ।

लिगको १० खेलमा ३ जित दर्ता गर्दै समूहको सातौ स्थानमा छ । उसलाई अब दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ‌ । यता एक खेल कम खेलेको सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ । ९ खेलबाट १४ अंक भएको हैदारावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आज पनि दुई खेल हुनेछन् । पहिलो खेलमा मुम्बई इन्डियन्सले कलकत्ता नाइट राइडर्सको सामना गर्नेछ भने दोस्रो खेल किङ्स एलाभेन पञ्जाव र राजस्थान रोयल्सबीच हुनेछ ।