काठमाडौं– बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले न्याय र धर्ममा रहेर काम गर्ने बताए ।


ADVERTISEMENT


काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका मुख्यमन्त्री बानियाँले सार्वजनिक पुस्तकालयको सफलताको शुभकामना व्यक्त गर्दै “राजनीति नाफा–नोक्सान होइन, न्याय र धर्ममा आधारित कर्म रहेको बताए । उनले भने, समाज परिवर्तनका लागि सबैको सक्रिय सहभागिता जरुरी छ।”


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले पुस्तकालयलाई समाजको ज्ञान, चेतना र प्रगतिका केन्द्रका रूपमा व्याख्या गर्दै भने, “सार्वजनिक पुस्तकालयमा संसारका अवस्था, देशको गति, विकास र प्रगतिको झल्को पाइन्छ। त्यसैले पुस्तकालय देशको सोच, संस्कार र गतिलाई बुझ्ने माध्यम हो।”

उनले हाल देश संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थामा अघि बढिरहेको बताउँदै जनआन्दोलन–२०६२र६३ पछि नयाँ पुस्ताले मुलुकको नेतृत्व सम्हाल्ने चरण आएको उल्लेख गरे। संविधानले अवसरका ढोका खोलेको भए पनि चुनौतीहरूलाई अवसरमा बदल्न सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।

मुख्यमन्त्री बानियाँले “मन, बुद्धि र चित्त सुद्धिकरण” मा आधारित नेतृत्वको आवश्यकता औंल्याउँदै आगामी पुस्तालाई नैतिकता र कर्ममा आधारित भएर अघि बढ्न आह्वान गरे। आफ्नो कार्यकालमा गरीबी निवारण, न्याय, सेवा, विकास र सुशासनमुखी काममा ध्यान दिएको बताउँदै उनले सामाजिक उत्तरदायित्वअनुसार प्रदेशको विकासमा निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले आफ्नो तर्फबाट पुस्तकालयको अक्षयकोषका लागि व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। साथै, उनले प्रदेश सरकारले उपत्यकामा सार्वजनिक पुस्तकालय सुदृढीकरणका लागि पनि बजेट विनियोजन गरेको जानकारी दिए।

उनले जनताको हितका लागि बोली र व्यवहार एउटै बनाउने प्रतिबद्धता जनाउँदै आफूले व्यक्तिगत रूपमा पनि विपन्न र एकल महिलाको घर निर्माणमा सहयोग गरेको, चेपाङ समुदायका लागि आवास निर्माण र विपन्न परिवारका बालबालिकालाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पुर्‍याइरहेको बताए।

कार्यक्रममा समाजका पदाधिकारी, पुस्तकालय क्षेत्रका अगुवा व्यक्तित्व, शिक्षाविद्हरू र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।