काठमाडौँ – नेपाल टेलिकमले वि.सं.२०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको छ ।
आइतबार नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै माननीय मन्त्री खरेलले आर्थिक रुपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद ज्ञापन गरे ।
उजले फाइबर सेवाका ग्राहक वृद्धि गर्नका लागि बजारीकरणका उपायहरु अपनाउन अनुरोध गर्दै जनतालाई सुसूचित गर्न र सधैंभर सम्पर्क स्थापित गर्न टेलिकमले खेलेको भूमिका सराहनीय रहेको बताउँदै सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशनसमेत दिए ।
कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
आजबाट २०८२ माघ २२ गतेसम्म उपलब्ध हुने यस अफर अन्तर्गत करसहित रु. ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ । जसमा साविक बमोजिमको जडान शुल्क रु. ५०० थप लाग्ने टेलिकमले जनाएको छ । अफरको साथमा विद्यार्थीले १ थान ड्युअल ब्याण्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन् । अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टल मार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भै आवेदन दिन सक्नेछन् ।
टेलिकमका अुनसार यस अफर अन्तर्गत उपलब्ध गराइएको एफटीटीएच प्याकेजको समयावधि समाप्त भए पश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न भने सकिने छैन । सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरु मध्येबाट आफ्नो आवश्यकता बमोजिमको कुनै एक प्याकेज छनौट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन् ।
यस अफर अन्तर्गत एफटीटीएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेज भ्यालिडिटी समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा शुरुमा उपलब्ध गराइएको सीपीई भने फिर्ता गर्नुपर्नेछ ।
अफर प्राप्त गर्नका लागि आवेदन फारमका साथ वैधानिक विद्यार्थी परिचयपत्र, स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्रको प्रतिलिपि र नाबालिगको हकमा अभिभावकको नागरिकता, लाइसेन्स वा पासपोर्टकोको प्रतिलिपि आवश्यक पर्ने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार जडान सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेवसाइट मार्फत तथा ग्राहक सेवाकेन्द्रको सम्पर्क नम्बर १९८ मा कल गरी प्राप्त गर्न सकिने छ ।


























































