काठमाडौं–यातायात व्यवसायीहरू आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका छन् । सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आईतबार मध्यरात भएको सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको वार्तामा सहभागी एक सदस्यले स्रोतलाई जानकारी प्राप्त गराएका छन् ।


ADVERTISEMENT


यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म भएको व्यवसायी र सरकारी पक्षबीचको वार्तामा व्यवसायीहरू आन्दोलनको कार्यक्रम फिर्ता लिएर कम्पनिमा जाने लगायतका सहमति भएको ती सदस्यले भने ।


ADVERTISEMENT

# # #


‘सहमति यस्तै यस्तै छ । विस्तृत विवरण हामी सोमबार दिउँसो संयुक्त पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नेछौ,’ ती सदस्यले भने,‘अहिले यति बुझ्नुहोस् सहमति भएको छ ।’

सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेसँगै विरोधका विभिन्न कार्यक्रम गर्दै आएका व्यवसायीले २१ गते सवारी चलाएनन् । सरकारले सवारी नचलाउने व्यवसायीलाई पक्राउ गरी रूट परमिटसमेत खारेज गर्ने बताएपछि व्यवसायी लचक भएका हुन् ।

उनीहरुले आगामी २७ गतेदेखि अनिश्चितकालीन यातायात हड्ताल लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसका थिए । शुक्रबार र शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिवसहितका पदाधिकारीहरु पक्राउ परेपछि व्यवसायी सरकारसामू घुँडा टेक्न बाध्य भएका हुन् ।

पक्राउ परेका व्यवसायीलाई सरकारले सिन्डिकेट नगर्ने र सरकारलाई सघाउने सर्तमा कागज गरेर रिहा गरेको थियो । त्यसपछि यातायात मन्त्री रघुबीर महासेठसहितको सहभागीतामा राति अबेरसम्म मन्त्रालयमा वार्ता भएको थियो ।